Kakhara सबैको खबर सम्पूर्ण खबर
कवीन्द्र र शिखरको जोडी प्रथम 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा आयोजित साबिक रुकुम जिल्ला खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता कवीन्द्र पुन र शिखर केसीको जोडीले जितेको छ । बुधवार भएको फाइनलमा महेन्द्र पुन र मदन खड्काको जोडीलाई पराजित गर्दै कवीन्द्र र शिखरको जोडी विजेता बनेकाे हो । यो जोडीले नगद २५ हजार ५ सय २५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उप विजेता बनेको महेन्द्र र मदनको जोडीले १५ हजार ५ सय १५ रुपैयाँमा चित्त बुझाएको छ । अनिल बुढा र कमल पुन तथा नवचन्द्र ओली र रोहित ओलीको जोडी सान्त्वना भएका छन् । यी दुवै जोडीले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका छन् । रेड सञ्चार मिडिया एन्ड बहुउद्देश्यीय टेक्नोलोजी प्रालिले दसैँ, तिहारको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा रुकुम पश्चिम र रुकुम पूर्वका गरी ४० टिमले प्रतिस्पर्धा गरेको रेड सञ्चार मिडिया एन्ड बहुउद्देश्यीय टेक्नोलोजी प्रालिका सह प्रबन्धक बिशाल विष्टले जानकारी दिनुभयो । प्रतियोगितामा स्थान प्राप्त गर्नेहरूलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्माले पुरस्कार वितरण गर्नुभएको थियो । मङ्गलवार सुरु भएको प्रतियोगिता बुधवार सम्पन्न भएको हो ।

Kabi&Sikhar-1728525008.jpg

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update