Kakhara सबैको खबर सम्पूर्ण खबर
सेसेल्समा पहिलो पटक कविता र भलिबल प्रतियोगिता सहित दसैँ मेला 

पूर्वी अफ्रिकी मुलुक सेसेल्समा कार्यरत नेपालीहरूले पहिलो पटक भव्य रूपमा दसैँ मेला सम्पन्न गरेका छन् । एनआरएनए सेसेल्सले बडा दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम  दसैँ मेला २०२४ सेसेल्सकाे राजधानी माहे आइल्याण्ड, भिक्टोरियामा आयोजना गरेकाे थियो । कार्यक्रम अक्टोबर ५ र ६ गरी दुई दिन दुई चरणमा सम्पन्न भएको हो । कार्यक्रम प्रवेशका लागि टिकट  था टाेकनकाे व्यवस्था गरिएको थियो भने टिकट लिनेहरूका लागि बम्पर उपहारको समेत व्यवस्था गरिएको थियो ।

कार्यक्रमको पहिलो दिन अक्टोबर ५ मा  एनआरएनए सेसेल्सका अध्यक्ष मनोज विकको अध्यक्षतामा प्रमुख अतिथि साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष गणेश खड्काले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । दसैँको रौनक दिन कार्यक्रम स्थलमा लिङ्गे पिङ हालिएको थियो । जसले विदेशी भूमिमा पनि नेपाली पन झल्काएको थियो । त्यस्तै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले नेपाली राष्ट्रिय झन्डा, ढाका टोपी, कपडा लगायत विविध नेपाली तथा स्थानीय खाद्य परिकारहरू साथै नेपाल र नेपाली चिनाउने तथा पर्यटन प्रवर्द्धन गर्ने सामाग्रीहरूको स्टल समेत राखिएको थियो । सेसेल्सका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू एलिजाह र तानियाकाे साङ्गीतिक प्रस्तुति सहित पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो ।

दोस्रो दिन अक्टोबर ६ मा राष्ट्रिय खेलकुद परिषद् सेसेल्सकाे समन्वयमा पहिलो पटक नेपाली भलिबल प्रतियोगिता राखिएको थियो । उक्त खेलमा आयोजक टिम एनआरएनए सहित पाँच समूहले सहभागिता जनाएका थिए । त्यस्तै नेपाली साहित्यको संवर्द्धन, प्रवर्द्धन, उन्नयन र विश्वव्यापीकरण अभियानलाई बढवा दिँदै सेसेल्समै पहिलो पटक एनआरएनए भाषा-साहित्य समितिले खुला कविता प्रतियोगिता समेत आयोजना गरिएको थियो । यसको संयोजन महेन्द्र भट्टराईले गर्नुभएको थियो । 

Dashain-1728615647.jpg
उक्त प्रतियोगितामा १६ वटा कविताहरू प्राप्त भएका थिए । जसबाट उत्कृष्ट ३ कविता घोषणा गरिएको थियो । उत्कृष्ट तीन कविहरू गायत्री कुलुङ राई, एकनाथ चौधरी र नवीन तामाङलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय उपाध्यक्ष गणेश खड्काले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

त्यसै गरी कार्यक्रमका विशेष अतिथि नेपालका लागि सेसेल्सका अवैतनिक वाणिज्यदूत नरेश दास रहनुभएको थियो भने अतिथिहरूमा एनआरएनए सेसेल्सका संरक्षक तथा अनेसास अफ्रिका महादेशीय च्याप्टर कार्यसमिति सदस्य रामचन्द्र राई, एनआरएनए सेसेल्सका सल्लाहकारहरू दुर्गा थापा र कोमल पाण्डे रहनुभएको थियो । 

कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आमन्त्रित कलाकारहरू लोकदोहोरी  गायक राजु परियार र गायिका ज्योति मगरको प्रस्तुति रहेको थियो भने अन्तमा भलिबल प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरूलाई नगद पुरस्कार सहित ट्रफि तथा मेडल प्रदान गरिएको थियो । कार्यक्रमको अन्तिममा बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको थियो । उक्त उपहारमा तेस्रो पुरस्कार पाँच जनालाई स्मार्ट घडी, दोस्रो पुरस्कार एक जनालाई ३२ इन्चको रङ्गिन टिभी तथा प्रथम पुरस्कार हाेण्डा कम्पनीको स्कुटर प्रदान गरिएको थियो ।

ad0b57f9-8a35-4e90-bd04-b063e334f7d3-1728615646.jpg
पहिलो पटक भएकोले कार्यक्रममा केही व्यवस्थापकीय त्रुटिहरू देखिए पनि आगामी दिनहरूमा यसलाई सुधारेर सु-व्यवस्थित बनाउँदै लैजाने तथा कार्यक्रमका माध्यमबाट नेपाल र नेपालीको अस्तित्व पहिचान जोगाउँदै नेपालका लागि विदेशी पर्यटन प्रवर्द्धनका निमित्त प्रभावकारी कदम चाल्ने एनआरएनए सेसेल्सका अध्यक्ष मनोज विकले प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update