Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा चालु आ.व. मा  २ सय ९७ जनामा डेंगी र स्क्रब टाइफसकाे संक्रमण

देश भरमा डेंगी र स्क्रब टाइफसका बिरामी बढिरहेका बेला रुकुम पश्चिममा पनि यी रोगले सताइरहेका छन् । जिल्लामा चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म २ सय ९७ जनामा स्क्रब टाइफस र डेंगीकाे संक्रमण देखिएकाे स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । जसमा २ सय ४५ जना स्क्रब टाइफसका संक्रमित रहेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि आएका शङ्कास्पद व्यक्तिमा परीक्षण गर्दा उक्त व्यक्तिमा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका स्वास्थ्य सेवा व्यवस्थापक बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा शङ्कास्पद १ हजार २ सय २० जनामा जाँच गरिएको थियो ।

पछिल्ला केही वर्षयता नेपालमा स्क्रब टाइफसको प्रकोपमा उल्लेखनीय वृद्धि भएको छ । स्क्रब टाइफस एक प्रकारको जीवाणुजन्य रोग हो जुन ‘ओरिएन्टिया त्सुत्सुगामुशी’ नामक जीवाणुबाट सङ्क्रमित रुखो इलाकामा पाइने कीराहरू (चिगर्स) बाट फैलिन्छ । स्क्रब टाइफस जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थि सुन्निने लक्षण देखिन्छन् । समयमै उपचार नगरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्यु हुने चिकित्सकको भनाई छ । 

यस्तै जिल्लामा डेंगीका सङ्क्रमित पनि बढ्दो क्रममा छन् । चालु वर्षको हालसम्म ५२ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर चौलागाईको भनाई छ । कुल १ हजार ४ सय ३१ जनामा जाँच गरिएकामा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको उहाँको भनाई छ । जिल्लामा डेंगी र स्क्रब टाइफसका कारण अहिलेसम्म कुनै व्यक्तिको ज्यान भने नगएको डाक्टर चौलागाईको भनाई छ । तर २ सय ९७ जनामा डेंगी र स्क्रब टाइफसकाे संक्रमण देखिएकाे छ । डेंगी लामखुट्टेबाट सर्ने भाइरल सङ्क्रमण वा रोग हो । डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ । डेंगी ज्वरोलाई ब्रेकबोन फिभर पनि भनिन्छ । डेंगी एडिस लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । सम्भावित लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा जिल्ला अस्पतालमा आउन डाक्टर चौलागाईको सुझाव छ ।

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update