Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा खाद्यको चामल बिक्री बढ्यो, ३ सातामा ३ सय क्विन्टल चामल बिक्री

रुकुम पूर्वमा खाद्यको चामलको बिक्री बढेको छ । जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुमकोट र डिपो कार्यालय तकसेराबाट चामल बिक्री भइरहेको छ । त्यस्तै विभिन्न सहकारीहरूले समेत खाद्यकै मूल्यमा चामल बिक्री गरिरहेको छन् । अहिले दसैँ, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरेर शाखा कार्यालय रुकुमकोटमा सुपथ मूल्य पसल सञ्चालन भइरहेको छ । असोज ४ गतेबाट पसल सञ्चालनमा आएकामा अहिलेसम्म ३ सय क्विन्टल चामल बिक्री भइसकेको शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । जिल्लाका लागि सुपथ मूल्य पसलको कोटा ७ सय क्विन्टल तोकिएको छ । पूर्व निर्धारित समय अनुसार सुपथ मूल्य पसल माघ २ गतेसम्म सञ्चालन हुनेछ ।

तर कोटा मार्फत प्राप्त चामल पहिले नै सकिएमा सुपथ मूल्य पसल चामल सकिएकै दिनदेखि बन्द हुने खड्काको भनाई छ । यद्यपि चामलको कोटा बढाउने प्रयास समेत भइरहेको उहाँको भनाई छ । जिल्लामा खाद्यको चामलको खपत बढ्दै गएको छ । गत वर्ष सञ्चालन भएको सुपथ मूल्य पसल अवधिभर ४ सय क्विन्टल चामल बिक्री भएको थियो । तर यो वर्ष भने अहिले नै ३ सय क्विन्टल चामल बिक्री भइसकेको र तोकिएको अवधिभर अझ धेरै चामल बिक्री हुने शाखा प्रमुख खड्काले बताउनुभयो । बजारको मूल्य भन्दा धेरै नै सस्तो भएपछि खाद्यको चामलप्रति उपभोक्ताहरूको आकर्षण बढेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार खाद्यको चामल साबिक मूल्य भन्दा सुपथ पसलबाट प्रतिक्विन्टल ५ सय र २५ केजीमा १ सय २५ रुपैयाँ सहुलियत छ भने बजारको चामल भन्दा १ हजार बढी सस्तो पर्ने गर्छ ।

खाद्यको सुपथ पसलबाट स्टिम जिरा मसिनो र अरुवा सोना मंसुली चामल बिक्री भइरहेको छ । सुपथ पसलबाट स्टिम जिरा मसिनो चामल बजारको भन्दा प्रतिक्विन्टल १५ सय सस्तोमा बिक्री भइरहेको छ भने अरुवा सोना मंसुली चामल बजारको भन्दा १ हजार कममा बिक्री भइरहेको खड्काको भनाई छ । गुणस्तरीय र बजारको भन्दा सस्तो पाइने भएपछि जिल्लामा खाद्यको चामल बिक्री बढिरहेको खड्का बताउनुहुन्छ । त्यस्तै जिल्लामा तकसेरा डिपोबाट पनि चामल बिक्री भइरहेको छ । उक्त डिपोमा चाडपर्वलाई लक्षित गर्दै १ सय क्विन्टल चामल आएको र लगभग सबै चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमकोटका प्रमुख खड्काले जानकारी दिनुभयो । तकसेरामा भने सुपथ मूल्य पसल सञ्चालनमा नरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update