Kakhara सबैको खबर सम्पूर्ण खबर
दसैँ अवधिमा रुकुम पश्चिममा झन्डै २ सय सवारी साधन कारबाहीमा परे 
सवारी चेकजाँच गर्दै (बायाँ), ट्राफिक नियम सम्बन्धी सचेतना फैलाइदै (दायाँ)

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले चाडबाडको समयमा सवारी जाँचमा कडाइ गरेको छ । चाडबाडको समयमा सवारी चाप बढी हुने र दुर्घटनाको जोखिम समेत बढी हुने भएकोले सवारी जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख भरतबहादुर शाहीले दसैँ, तिहार लगायतका चाडबाडलाई लक्षित गरेर सवारी जाँच र ट्राफिक नियम पालनामा कडाइ गरेको बताउनुभयो । उहाँका अनुसार दसैँको अवधिमा झन्डै २ सय सवारी साधन कारबाहीमा परेका छन् ।

घटस्थापनाको दिन देखि हालसम्म जिल्ला भरमा १ सय ९५ वटा सवारी साधन कारबाहीमा परेको उहाँले बताउनुभयो । यसबाट १ लाख २४ हजार ५ सय राजस्व सङ्कलन भएको छ । कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल रहेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख शाहीले बताउनुभयो । सवारी चालक अनुमति पत्र लगायतका कागजात नभएका, क्षमता भन्दा बढी यात्रु बोक्ने, रुट परमिट नभएका लगायतका सवारी साधन कारबाहीमा परेका हुन् ।

Traffic-1728981574.jpg
चालकहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराइदै ।

सवारी चेकजाँचमा मात्र नभई ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रममा समेत जोड दिइएको शाहीले बताउनुभयो । दसैँ अवधिमा जिल्लाभरमा १५ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा सर्वसाधारण तथा सवारी चालकहरूलाई ट्राफिक नियम पालना सम्बन्धी जानकारी गराइएको शाहीको भनाई छ । जिल्लामा चाडपर्वलाई लक्षित गर्दै १८ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । जिल्लाभरमा ८ वटा ट्राफिक प्रहरी पोस्ट रहेका छन् । दसैँ अवधिमा मानवीय क्षति हुने गरी सवारी दुर्घटना नभएको ट्राफिक प्रहरीको भनाई छ ।

जिल्लामा साँघुरो बाटो, पार्किङको अभाव, बसपार्क नहुनु लगायतका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख शाहीले बताउनुभयो । विशेषगरी जिल्ला सदरमुकाम मुसिकोटमा ट्राफिक व्यवस्थापनमा चुनौती रहेको उहाँको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update