Kakhara सबैको खबर सम्पूर्ण खबर
यसवर्षको दसैँमा रुकुमेलीले ४ करोडको खसी बोका खाए, झन्डै १४ करोड कमाए

यस वर्षको दसैँमा रुकुम पश्चिममा झन्डै १८ करोडको खसी बोकाको कारोबार भएको छ । दसैँलाई लक्षित गरेर जिल्लाभरमा कुल ८ हजार २ सय ९० वटा बोकाको किनबेच भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । यसबाट १७ करोड ९६ लाख ५० हजारको अनुमानित कारोबार भएको कार्यालय प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यो तथ्याङ्क पालिकाबाट प्राप्त विवरण अनुसार तयार पारिएको हो ।

यसमा जिल्लामा खपत भएको र जिल्ला बाहिर पठाइएको समेत विवरण समावेश छ । यो दसैँमा जिल्लाबाट झन्डै १४ करोड रुपैयाँका खसी बोका जिल्ला बाहिर गएका छन् । ५ हजार ५ सय ३० वटा खसी बोका जिल्ला बाहिर पठाउँदा १३ करोड ८२ लाख ५० हजार जिल्लामा भित्रिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख शर्माले बताउनुभयो । जिल्लाबाट पोखरा, काठमाडौँ, दाङ, नेपालगन्ज, सुर्खेत, डोल्पा लगायतका ठाउँमा दसैँलाई लक्षित गरेर खसी बोका गएका छन् ।

दसैँमा जिल्लामा कुल १७ करोड ९६ लाख ५० हजारको खसी बोकाको कारोबार भएकोमा १३ करोड ८२ लाख ५० हजार मूल्य बराबरका खसी बोका जिल्ला बाहिर पठाइदा बाँकी ४ करोड १४ लाख मूल्य बराबरका खसी बोका जिल्लामै खपत भएका छन् । यस वर्ष जिल्लामा निर्यात बढेको छ भने खपत भने गत वर्षको तुलनामा केही घटेको पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्याङ्कले देखाएको छ ।

जिल्लामा सबैभन्दा बढी कारोबार आठबिसकोट नगरपालिकामा ३ हजार २८ वटा खसी बोकाको हुँदा सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा ५ सय ५८ वटाको कारोबार भएको देखिएको प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार बाँफिकोटमा २ हजार ६९, मुसिकोटमा १ हजार ५८, सानीभेरीमा ९ सय ८९ र चौरजहारी नगरपालिकामा ५ सय ८८ वटा खसी बोकाको कारोबार भएको तथ्याङ्क पशु अस्पताल तथा पशु सेवा कार्यालयसँग छ ।

जिल्ला बाहिर पठाउनुपर्दा पालिकाबाट अनुमति लिनुपर्ने भएकोले पालिकाको अनुमतिका आधारमा जिल्ला बाहिर पठाइएका खसी बोकाको सङ्ख्या र रकमको विवरण तयार पारिएको र जिल्लामा भएको खपत जिल्लामा रहेका बाख्रा फर्म र मासु पसलले बिक्री गरेको आधारमा निकालिएको कार्यालयले जनाएको छ ।

रुकुम पश्चिम मासु र दूधमा पूर्ण रूपमा आत्मनिर्भर छ । जिल्लामा पुगेर पनि मासु र दूध जिल्ला बाहिर निर्यात भइरहेको कार्यालयको भनाई छ । मासुका लागि खसी बोका राजधानीसम्मै पुग्ने गरेकामा दूध भने रुकुम पूर्व, जाजरकोट र सल्यान लगायतका ठाउँमा जाने गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update