Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट ६ मग्मामा सहिद स्मृति मेला सुरु 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मामा सहिद स्मृति मेला सुरु भएको छ । सोमबारबाट मेला सुरु भएको हो । मेलाको उद्घाटन कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले गर्नुभएको थियो । मग्मामा हरेक वर्ष सहिदहरूको सम्झनामा मेला लाग्दै आएको छ । सोमबारबाट सुरु भएको सहिद स्मृति मेला कात्तिक २ गतेसम्म  चल्ने सहिद स्मृति मेला समिति सदस्य देवराज खनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा खुला वडा स्तरीय महिला, पुरुष भलिबल, पुरुष डवल ब्याडमिन्टन लगायत सांस्कृतिक कार्यक्रमहरू मयूर नाच, सिगांरु नाच पनि प्रदर्शन गरिएको छ । मेलामा पुरुष भलिबल प्रतियोगिताको लागि जिल्लाको विभिन्न ठाउँबाट २६ समूहले सहभागिता जनाउँदा महिला भलिबल तर्फ १० समूहले सहभागिता जनाएको सहिद स्मृति मेला समितिका सदस्य खनालले जानकारी दिनुभयो । 

पुरुष भलिबल तर्फ  विजेता हुने समूहले नगद १ लाख ६ हजार रुपैयाँ, उपविजेता हुने समूहले नगद ७५ हजार रुपैयाँ र सान्त्वना हुने दुई समूहले समान नगद २०/२० हजार रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै महिलातर्फ विजेता हुने समूहले नगद २५ हजार उपविजेता हुने समूहले नगद १५ हजार  र सान्त्वना हुने दुई समूहलाई समान ५/५ हजार रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । बाँफिकोट गाउँपालिका वडा नम्बर ६ जिपसिङमा जन्मनु भएका सहिद रवि केसी लगायत अन्य सहिदहरूको सम्झनामा विगत २५ वर्षदेखि नेकपा माओवादी केन्द्रले हरेक वर्ष मग्मामा मेला आयोजना गरिरहेको छ ।

 नगेन्द्र रिजालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काको विशेष आतिथ्यता रहेको थियो । अन्य अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन, बाँफिकोट गाउँपालिका इन्चार्ज धर्मबहादुर केसी, पार्टीका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी लगायतको आतिथ्यता रहेको थियो ।सहिद स्मृति मेला समितिका सदस्य नवराज खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समितिका सदस्य किरण विश्वकर्माले गर्नुभएको थियो । 

 
WhatsApp-Image-2024-10-15-at-17.50.12_f5f64055-1728994225.jpg

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update