Kakhara सबैको खबर सम्पूर्ण खबर
सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म रुकुम पश्चिमले ७ औँ स्थापना दिवस मनायो

रुकुम पश्चिममा रहेको सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मले सातौँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मले जनाएको छ । केही दिन अघिबाटै सचेतनामूलक कार्यक्रम, सरसफाइ, रक्तदान, आन्तरिक खेलकुद सहिद अन्य कार्यक्रम भएकामा बुधवार मञ्चको कार्यक्रम भएको थियो । 

सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतका निमित्त बाहिनी पति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एस.एस.पी) प्रकाश थापाको प्रमुख आतिथ्यतामा स्थापना दिवस विशेष कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विक, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका, सुरक्षा निकाय, राजनीतिक दल लगायत जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्थापना दिवस विशेष विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो भने सांस्कृतिक प्रस्तुतिहरू समेत राखिएको थियो । 

APF-47-1729072606.jpg
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश थापाले दत्तचित्त भएर जनताको सेवामा लाग्न ४७ नम्बर गुल्मलाई निर्देशन दिनुभयो । सशस्त्र प्रहरीको काम देखेर पछिल्लो समय देशभरमा सशस्त्र प्रहरीको माग भइरहेको भन्दै उहाँले यो साखलाई अझ बढाउने गरी काम गर्न निर्देशन दिनुभएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो । 

SSP-1729072882.jpg
कार्यक्रममा ४७ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक मदन धानुकले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी सहायक निरीक्षक मोहन डाँगीले गर्नुभएको थियो । 

स्थापना दिवसको अवसरमा विद्यालयहरूमा सशस्त्र प्रहरी बल सम्बन्धी जानकारी गराउन जनचेतनामूलक कक्षाहरू सञ्चालन गर्नुका साथै गाडी दुर्घटनाको उद्धार सम्बन्धी कृत्रिम अभ्यास समेत गरिएको सशस्त्र प्रहरी निरीक्षक जालन्धर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मठ मन्दिर सरसफाइ, विपत् व्यवस्थापन सम्बन्धी जनचेतना प्रवाह, रक्तदान जस्ता कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो । 

APF-day-1729072609.jpg
त्यस्तै गुल्ममा हतियार ह्याण्डलिङ, शारीरिक सहिष्णुता र हाजिर जवाफ प्रतियोगिता समेत सञ्चालन गरिएको केसीले बताउनुभयो । स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मलाई सहयोग गर्ने २ जना व्यक्तिहरूलाई सम्मान समेत गरिएको उहाँले बताउनुभयो । यो गुल्म ७ वर्ष अघि रुकुम पश्चिममा स्थापना भएको हो । हरेक वर्ष विभिन्न कार्यक्रम गरी गुल्मले स्थापना दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update