Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि ६९ औँ प्रहरी दिवस मनाइयो 

रुकुम पश्चिममा पनि ६९ औँ प्रहरी दिवस मनाइएको छ । केही दिन अगाडीबाट नै विभिन्न कार्यक्रम सञ्चालन भएकामा दिवसको मुख्य दिन बुधवार मञ्चको कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा भएको कार्यक्रममा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा स्थान प्राप्त गर्नेहरूलाई पुरस्कृत गरिएको थियो ।

दिवसको अवसरमा खुला पुरुष डबल ब्याडमिन्टन, प्रहरी कर्मचारीहरूका बिचमा टेबल टेनिस र महिला प्रहरी कर्मचारीका लागि म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै प्रहरीलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा निकाय, प्रहरी भवन निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गादाताहरूलाई सम्मान गरिएको छ । 

POLICE-DAY-RUKUM-1729075316.jpg
यसका साथै उत्कृष्ट प्रहरी कर्मचारी र उत्कृष्ट प्रहरी युनिटलाई पनि सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । इलाका प्रहरी कार्यालय बाँफिकोट र प्रहरी चौकी सिम्ली उत्कृष्ट प्रहरी युनिटका रूपमा सम्मानित भएका छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद सहित सम्मान गरिएको छ । 

यसका साथै अमर प्रहरीका परिवारलाई समेत दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले प्रहरी र नागरिकको सम्बन्ध सधैँ सुमधुर हुनुपर्ने बताउनुभयो । नागरिकको सुरक्षाका लागि दिनरात नभनी खटिएको प्रहरीलाई नागरिकहरूले पनि सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । 

CDO-1729075319.jpg
प्रहरी र नागरिकको साझेदारीबाट मात्र समाजमा अपराध न्यूनीकरण गर्न सकिने उहाँको भनाई थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विक, मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी, चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका, जिल्ला न्यायाधीवक्ता चन्द्रबहादुर सिँजाली, जिल्ला अदालतका श्रेष्तेदार मन्दिरा शाही, सुरक्षा निकाय, राजनीतिक दल लगायत विभिन्न सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो । 

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले धन्यवाद मन्तव्य राख्नुभएको थियो । प्रहरी निरीक्षक बखतबहादुर शाहीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक ऋषि पाठकले गर्नुभएको थियो ।   

DSP-1729075316.jpg

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update