Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रकाशकीय: हामी केवल समाचारमा मात्र सीमित छैनौँ

एम.पि.सी मिडिया प्रा.ली.ले सुरु गरेको kakhara.com ले आज कार्तिक १ गतेबाट प्रकाशनको चौथो वर्ष पूरा गरेको छ । २०७७ साल कार्तिक १ गते घटस्थापनाका दिन सुरु भएको हाम्रो यात्रा आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । एम.पि.सी मिडिया प्रा.ली.द्वारा सञ्चालित kakhara.com को चौथो वार्षिकोत्सवका अवसरमा म सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरूमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छु ।

सबैको खबर, सम्पूर्ण खबर ! भन्ने नारालाई आत्मसाथ गरी हामी अघि बढिरहेका छौँ । कखराको सुरुवात हाम्रो आत्मविश्वासी प्रयास थियो । रुकुम जस्ता सूचना प्रविधिको पहुँचमा बिस्तारै पुग्दै गरेका जिल्लामा अनलाइन न्युज पोर्टल सञ्चालन गर्ने कुरा आफैँमा चुनौतीपूर्ण थियो । तर हामीमा उच्च आत्मविश्वास थियो । अब पत्रकारिताको ट्रेन्ड फेरिँदै छ भन्ने भान हामीलाई थियो । यसकै बलमा हामीले तत्कालीन चुनौतीलाई सहर्ष स्वीकार गर्दै एउटा सुनौलो यात्राको सुरुवात गरेका थियौँ । सुरुवातमा कयौँ आशङ्का, थोरै डर, अनि तीव्र इच्छा शक्ति थियो । आजको दिनमा उभिएर सुरुवातका दिनलाई समीक्षा गर्दा थप नयाँ गर्ने जोस र जाँगर पैदा भएको छ । सयौँको सङ्ख्यामा जिल्ला जिल्लामै अनलाइन न्युज पोर्टलहरू सञ्चालनमा आउने तर बिचमै हराउने नियतिको सिकार कतै हामी पनि हुने त होइन भन्ने डर अहिले पूर्ण रूपमा हटेको छ । हामी सम्पूर्ण पाठकहरूलाई विश्वास दिलाउन चाहन्छौँ यो चार वर्षको अवधिमा तपाईँहरूले जुन माया र साथ हामीलाई दिनुभयो यसले हामीलाई बिचमै निभ्न दिने छैन, निभ्ने छैनौँ । 

हामी पत्रकारिताको फुल प्याकेज बन्न खोजिरहेका छौँ । हामी केवल समाचारमा मात्र सीमित छैनौँ । विचार, ब्लग, विश्लेषण, पाठकका विभिन्न सृजनालाई समेत स्थान दिइरहेका छौँ । पत्रकारिताको परम्परागत शैलीमा व्यापक सुधार र परिमार्जन भइसकेको छ । हामी यसमा अग्रसर छौँ । कुनै घटनाको जानकारी र फोटो मात्र पस्किने परम्परागत पत्रकारिताको शैलीबाट हामी पनि माथि उठ्दै छौँ । हामीले मल्टिमिडियालाई जोड दिएका छौँ । भिडिओ र तथ्याङ्क केन्द्रित समाचारमा होमिएका छौँ । समाचारमा तथ्याङ्कलाई केलाउने र तथ्याङ्क प्रस्तुतीकरणको नयाँ नयाँ आयामलाई पच्छ्याइरहेका छौँ । यसका लागि कार्यरत पत्रकारहरूको क्षमता विकासमा ध्यान दिएका छौँ । पछिल्लो समय विकास भएको प्रविधिलाई नजिकबाट नियालिरहेका छौँ र सोही अनुसार सामग्री पस्किरहेका छौँ । पाठकको रोजाइ नै हाम्रो प्रमुख प्राथमिकता हो भने पाठकलाई नयाँ पन दिने समेत हाम्रो प्रमुख अभियान हो । 

समाजका हरेक सकारात्मक, नकारात्मक गतिविधिमा हाम्रो प्रत्यक्ष निगरानी छ । समाजका राम्रा पक्षलाई थप प्रोत्साहन र समाजलाई हानि गर्ने हरेक घटनामा हाम्रो निरन्तर खबरदारी र निगरानी छ, रहिरहने छ । समाजका हरेक पाटोको सूक्ष्म अध्ययन र त्यसको विश्लेषण भइरहेको छ, भइरहने छ । अनियमितता, भ्रष्टाचार, बेथिति, कुसंस्कार, कुरीति, अन्धविश्वासका विरुद्ध र समाज विकासको हितमा हाम्रो कलम चलिरहेको छ, चलिरहने छ । यसका लागि तपाइहरूको निरन्तर साथ सहयोग र सुझावको तीव्र आकाङ्क्षा हामीले हिजो पनि राखेका थियौँ, आज पनि राखेका छौँ र भोलीका दिनमा झन् त्यसको अपरिहार्यता बढ्ने छ । समाज समुन्नत बनोस्, प्रत्येक नागरिकको आय स्तरमा वृद्धि होस्, सुशासन कायम होस, व्यथिति, अराजकता हटोस्, यसमा स्थानीय, प्रदेश र केन्द्रीय सरकार गम्भीरताका साथ लागुन्, सङ्घीयता बलियो होस् भन्ने हाम्रो अपेक्षा छ । 

अहिले पत्रकारिता माथि विभिन्न प्रश्नहरू पनि उठिरहेका छन् । त्यसको सामना हामीले पनि गरिरहेका छौँ । समाजले पत्रकारिताबाट जुन खालको अपेक्षा गरेको छ त्यो पूरा नहुँदा र केही मिडियाका कारण सिङ्गो पत्रकारिता क्षेत्र नै बदनाम हुने खतरा पनि बढिरहेको छ । हामी व्यावसायिक पत्रकारितामा दृढ छौँ । हाम्रो मिसन भनेकै सामाजिक स्वार्थ हो । यसमा दायाँ बायाँ गर्ने छैनौँ । पत्रकारिताको मर्म मर्न दिने छैनौँ । सबैमा यो विश्वास दिलाउन चाहन्छु ।  

अन्त्यमा, म हाम्रा सम्पूर्ण सहकर्मी, पाठक वृन्द, विज्ञापनदाता, लगायत सबै सहयोगी एवं शुभेच्छुक महानुभावहरूलाई तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु । नेपालीहरूका महान् शुभ दीपावली, छठ तथा नेपाल संवत् काे पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । 

धन्यवाद ।

Dhanbahadur khadka1666065956.jpg
Prakasakiya-1729157585.jpeg
Prakasakiya-1-1729157587.jpeg

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update