Kakhara सबैको खबर सम्पूर्ण खबर
कखरा अब देखि अंग्रेजीमा पनि 

रुकुम पश्चिमबाट सञ्चालनमा रहेको डिजिटल पत्रिका कखरा डटकमले अंग्रेजी संस्करण पनि सुरु गरेको छ । पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा कखराले बिहीबार देखि अंग्रेजी संस्करण सुरु गरेको हो । अब देखि कखराले अंग्रेजीमा पनि समाचार लगायतका सामग्रीहरू पस्किने छ । 

एम.पि.सी मिडिया प्रा.लि.द्वारा सञ्चालनमा रहेको कखराले यसअघि नेपालीमा मात्र सामग्रीहरू पस्किरहेको थियो । तर अब भने नेपाली बाहेकका पाठकहरूलाई समेत लक्षित गरेर अंग्रेजी संस्करण पनि सुरु गरेको एम.पि.सी. मिडिया प्रा.लि.का अध्यक्ष धनबहादुर खड्का ‘वसन्त’ले जानकारी दिनुभयो ।

‘हामीले हालसम्म रुकुमलाई केन्द्रविन्दु बनाएर विभिन्न सामग्रीहरू नेपालीमा पस्किरहेका थियौँ, उहाँले भन्नुभयो–पाठकहरूको मायाले हामीलाई थप राम्रो गर्ने हौसला मिलिरहेको छ, त्यसकै उपज अंग्रेजी संस्करण हो, अब देखि हाम्रा सामग्री नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध हुने छन् ।’ 

नेपाललाई विश्वसामु चिनाउने गरी पर्यटन प्रवर्द्धन, स्थानीय कला संस्कृतिलाई विश्व बजारमा पुर्‍याउने गरी अंग्रेजी संस्करण सुरु गरिएको उहाँको भनाई छ । यसले पर्यटन विकासमा थप टेवा पुग्ने उहाँको विश्वास छ । 

‘मानौँ हामीले रुकुम वा नेपालको कुनै पर्यटकीय स्थलको बारेमा सामग्री तयार पार्‍यौँ र उक्त सामग्री हाम्रा माध्यमबाट विदेशीको नजरमा पर्‍यो भने त्यसले हाम्रो पर्यटन प्रवर्द्धनमा टेवा पुग्न सक्छ उहाँले भन्नुभयो ।’ 

साथै पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा कखरा नयाँ लुक्समा आएको छ । यसअघिको भन्दा नयाँ आवरणमा कखरा आएको र अब पाठकले केही नयाँ पन पाउने अध्यक्ष खड्काको भनाई छ । साथै अब कखराले सामग्री प्रस्तुतीकरणमा समेत सुधार गर्ने र थप स्तरीय सामग्री पस्किँदै जाने उहाँको भनाई छ । 

२०७७ कार्तिक १ गते घटस्थापनाका दिन देखि प्रकाशन सुरु गरेको कखराले बिहीबार प्रकाशनका चौथो वर्ष पूरा गरी पाँचौँ वर्ष आरम्भ गरेको छ । यसको मुख्य कार्यालय रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलङ्गामा रहेको छ । कखराले विशेष गरी स्थानीय विषयवस्तुलाई प्राथमिकता दिएको छ । साथै मल्टिमिडियामा समेत जोड दिएको छ । 

अंग्रेजी संस्करणका लागि यहाँ क्लिक गर्नुहाेस ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update