Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पुगेर सन्तोष परियारले भने सरकार सर्वसत्तावादमा गयो, कडा प्रतिवाद गर्छाै‌

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकार सर्वसत्तावादमा गएको टिप्पणी गर्नुभएको छ । रास्वपा रुकुम पश्चिमको प्रथम जिल्ला भेलामा सहभागी हुन रुकुम पश्चिमको मुसिकोट पुग्नुभएका परियारले सरकारले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेर गल्ती गरेको बताउनुभयो । कानुनलाई सम्मान गर्छौँ, अनुसन्धानमा सघाउँछौँ भन्दा भन्दै एक अमुक व्यक्ति र पार्टीका पछि हात धोएर लागेको घटना अकल्पनीय र खेदजन्य भएको उहाँको भनाई छ ।

सरकारले राजनीतिक प्रतिशोध साँध्नकै लागि सभापति लामिछानेलाई गैर न्यायिक रूपमा पक्राउ गरेको दाबी गर्नुभयो । ‘यो सरकारको शक्तिको दुरुपयोग हो, कुनै व्यक्ति विशेष, संस्था विशेषमाथि कसरी प्रतिशोध साँधिन्छ, त्यस्तो बेलामा एउटा संवैधानिक सरकार, एउटा लोकतान्त्रिक भनिएको सरकार कुन हदसम्मको सर्वसत्तावादमा जाँदो रहेछ भन्ने एउटा द्योतक हो ।’ सरकारको यो कदमको कडा प्रतिवाद गर्ने समेत उहाँले बताउनुभयो ।

साङ्केतिक तथा प्रदर्शन लगायतका गतिविधि मार्फत सरकारको यो कदमको प्रतिवाद गर्ने उहाँको भनाई छ । तर कार्यकर्तालाई उचाल्ने, प्रतिवादलाई हिंस्रक बनाउने, हुलदङ्गा हुन सक्ने तर्फ भने पार्टी सजग रहेको र कुनै पनि कार्यकर्तालाई हुल हुज्जत गर भनेर नभनेको उहाँको दाबी छ ।

सडक आन्दोलनमा जानुहुन्छ भन्ने प्रश्नमा जवाफ दिँदै उहाँले भन्नुभयो–‘कुनै समय सीमाले सडक तात्दैन, मुद्दा र घटनाक्रमले सडक तताउने हो, यसै गरी अन्याय थोपरिँदै जाने हो भने, यसै गरी सत्ताको उन्माद बढ्दै जाने हो भने,  यसै गरी एकपछि अर्को सर्वसत्तावादी चरित्र देखाउँदै जाने हो भने अन्तिममा एउटा राजनीतिक पार्टीका लागि सडक र जनता भन्दा ठुलो शक्ति केही पनि छैन ।’

साथै उहाँले सरकारले देशको चौथो शक्तिको सभापतिमाथि यसरी धरपकड गरेको देख्दा जनतालाई के सम्म गर्ला भनेर आफूहरूलाई डर रहेको पनि बताउनुभयो । परियारले सरकारको रवैया देखि पार्टी नडराएको स्पष्ट पार्नुभयो । मुद्दा मिल्नेहरू सँग मोर्चा बन्दी गरेर सरकारका विरुद्ध लाग्ने पनि उहाँले सङ्केत गर्नुभयो ।

तपाइहरूलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सहानुभूति छ भन्ने प्रश्नलाई उहाँले अस्वीकार गर्नुभयो । मुद्दा मिल्ने अवस्थामा माओवादी मात्र नभई सबै राजनीतिक दलहरूसँग पार्टीले सहकार्य गर्ने उहाँले बताउनुभयाे ।साथै उहाँले हिजो सरकार किन ढालिएको रहिछ भनेर अहिले पुष्टि हुँदै गएको समेत बताउनुभयो । 

 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update