Kakhara सबैको खबर सम्पूर्ण खबर
कखराकर्मी ‌ओलीमाथि कर्णालीका मुख्यमन्त्री कँडेलबाट दुर्व्यवहार, सर्वत्र आलाेचना

पत्रकार बलेन्द्र ओली माथि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलबाट दुर्व्यवहार भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको प्रदेश विशेष कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको रिपोर्टिङका लागि पुगेका राष्ट्रिय समाचार समिति रासस र कखरा डटकममा कार्यरत पत्रकार ओलीले भिडिओ खिच्ने क्रममा मुख्यमन्त्री कँडेलबाटै तपाई को हो ? भिडिओ नखिच्नुहोस्, बाहिर निस्किनुहोस् भन्दै दुर्व्यवहार भएको थियो । मुख्यमन्त्रीबाट भएको यस प्रकारको दुर्व्यवहारको सर्वत्र आलोचना भएको छ । 

नेपाल पत्रकार महासंघ केन्द्र, नेपाल पत्रकार महासंघ रुकुम पश्चिम र प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले विज्ञप्ति जारी गर्दै यो घटनाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रले यो घटनालाई निन्दनीय र लज्जास्पद भनेको छ । महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा भनिएको छ, सार्वजनिक निकायको गरिमामय पदमा बहाल मुख्यमन्त्रीबाट पत्रकार माथि यस किसिमको व्यवहार हुनु आफैँमा निन्दनीय र लज्जास्पद हर्कत हो । महासङ्घले यस्तो हर्कतले संविधानले सुनिश्चित गरेको पत्रकार अधिकारमाथिको ज्यादती भनेको छ । साथै महासङ्घले पत्रकारको संवैधानिक सुनिश्चितताको सम्मान गर्न र निर्बाध रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ । 

FNJ-Nepal-1729593716.jpg
यस्तै नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले पनि मुख्यमन्त्रीबाटै पत्रकारमाथि भएको दुर्व्यवहारले ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, रिपोर्टिङका लागि कार्यक्रमका गएका पत्रकार ओलीलाई भिडिओ नखिच्नु, बाहिर निस्किनु भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दछौँ । यस कार्यले पत्रकारले निर्बाध रूपमा समाचार सङ्कलन गर्न पाउने अधिकार सरकारले कुल्चिन खोजेको प्रस्ट भएको विज्ञप्तिमा उल्लेख छ । साथै पत्रकारलाई निर्धक्क र निर्बाध पूर्वक सञ्चार कर्ममा जुट्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको ख्याल गरी त्यसलाई सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । 

FNJ-Rukum-West-1729593715.jpg
प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले पनि पत्रकार ओलीमाथि मुख्यमन्त्रीबाटै दुर्व्यवहार भएको घटनाको घोर आपत्ति प्रकट गरेको छ । जिल्ला अध्यक्ष देवकुमार ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा रिपोर्टिङका लागि गएका पत्रकार ओली माथि भएको घटनाको कडा शब्दमा निन्दा गर्दछौँ, भिडिओ खिच्न नदिई तपाई बाहिर निस्किनुहोस् भन्दै अपमानजनक व्यवहार गरेको प्रति प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पश्चिम घोर आपत्ति प्रकट गर्दछ, भनिएको छ । पत्रकारिताको कार्य समाजलाई सत्य, तथ्य र निष्पक्ष जानकारी प्रदान गर्नु हो, संविधानले प्रदान गरेको प्रेस स्वतन्त्रताको उल्लङ्घन हुनु र पत्रकारमाथि दुर्व्यवहार हुनु कुनै पनि हालतमा स्वीकार्य छैन, विज्ञप्तिमा भनिएको छ । यस्ता घटना पुनः दोहोरिन नदिन सम्बन्धित निकायसँग माग गर्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पश्चिमले प्रदेश सरकारले जिल्लामा आयोजना गर्ने कुनै पनि कार्यक्रम बहिष्कार गरेको विज्ञप्ति मार्फत जानकारी गराएको छ । 

Press-Center-1729593715.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update