Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकार ओलीमाथिको दुर्व्यवहार सिङ्गो पत्रकारिता जगतमाथिकै प्रहार: एम.पि.सी. मिडिया

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलबाट कखराकर्मी बलेन्द्र ओली माथि भएको दुर्व्यवहार सिङ्गो पत्रकारिता जगत माथिकै प्रहार भएको एम.पि.सी. मिडिया प्रालिले जनाएको छ । विज्ञप्ति जारी गर्दै कखरा डट कम सञ्चालन गरिरहेको एम.पि.सी. मिडिया प्रालिले मुख्यमन्त्रीबाटै यस्तो हर्कतले राज्यले पत्रकारितालाई कुन नजरले हेर्छ भन्ने पुष्टि समेत भएको जनाएको छ । सार्वजनिक कार्यक्रमको रिपोर्टिङका क्रममा मुख्यमन्त्री कँडेलबाटै तपाई को हो ? भिडिओ नखिच्नुहोस्, बाहिर निस्किनुहोस् भन्दै दुर्व्यवहार भएको घटनाले संविधानमै व्यवस्था भएको प्रेस स्वतन्त्रताको खिल्ली उडाएको विज्ञप्तिमा उल्लेख छ ।  

‘हामीले पत्रकारिताको मर्मलाई कुनै पनि समयमा मर्न दिएका छैनौँ भने आगामी दिनमा पनि पत्रकारिताको मर्मप्रति जिम्मेवार र प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । हाम्रो मिसन नै समाजको स्वार्थ हो । हालसम्म कुनै पनि एक पक्षको गुणगान गाउने र अर्को पक्षलाई पेल्ने गरी कुनै पनि सामग्री प्रकाशन प्रसारणमा हाम्रो चासो छैन । कखरा स्थापना भएको छोटो समयमै यहाँहरूले गरेको मायालाई यसलाई पुष्टि गर्छ । हामी सधैँ राम्रा कामको प्रवर्द्धन र कमजोरी भएका ठाउँमा खबरदारीको सिद्धान्त लिएर अघि बढिरहेका छौँ,’ प्रालिका अध्यक्ष धनबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारकै कार्यक्रमको प्रचारका लागि गएका पत्रकार ओली माथि दुर्व्यवहार भएको घटनाले ध्यानाकर्षण भएको उल्लेख छ । ‘जिल्ला प्रशासनमा आयोजित प्रदेश स्तरको कार्यक्रम हाम्रा लागि ठुलो विषय थियो । कार्यक्रममा उठेका विषयलाई समाचारका रूपमा प्रस्तुत गर्ने र प्रदेश सरकारले नै आयोजना गरेको कार्यक्रमलाई थप प्रचार प्रसार गरी सहयोग गर्ने उद्देश्यले जिल्ला प्रशासनबाटै आएको निम्तो अनुसार कार्यक्रमको रिपोर्टिङमा जाँदा यो खालको घटना हुनु खेदजन्य छ, विज्ञप्तिमा भनिएको छ ।’

यस्ता हर्कत आगामी दिनमा दोहोरिन नदिन र शान्तिपूर्ण वातावरणमा पत्रकारिता गर्न पाउने अवस्था सिर्जना गर्न सम्बन्धित निकाय समक्ष एम.पि.सी. मिडिया प्रा.लि. ले माग समेत गरेको छ । 
WhatsApp-Image-2024-10-22-at-5.47.32-PM-1729598585.jpeg

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update