पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले रुकुम पूर्वका सरोकारवाला निकायहरुलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी एकताबद्ध भएर लाग्न निर्देशन दिनुभएको छ । शनिबार जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ रुकुमकोटमा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्यकर्मी, कर्मचारी लगायतका सरोकारवालाहरुसँग छलफल गर्दै कोरोना भाइरस नियन्त्रणका लागि एकजुट भएर लाग्न निर्देशन दिनुभएको हो ।
कोरोना भाइरसको नयाँ भेरियन्टले आक्रान्त पारिरहेको यो अवस्थामा जनताको स्वास्थ्यप्रति राज्य उत्तरदायी हुनु पर्ने भन्दै अग्रपंक्तिमा रहेर काम गर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो । जिल्लामा उपलब्ध सबै संयन्त्रहरु कोरोना नियन्त्रणमा परिचालन गर्नु पर्ने उहाँको भनाई छ । उहाँले आफुले रुकुम पूर्व र पश्चिम भनेर कहिले पनि नछुटाउने भन्दै जिल्लामा आइपर्ने समस्या हल गर्नका लागि आफ्नो तर्फबाट सक्ने सबै प्रयास, पहल र सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भएको थियो ।
कोरोना भाइरसबाट जनताहरु त्रसित भएकाले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय सबैले जनस्तरमा गएर जनचेतना फैलाउनु पर्नेमा नेता शर्माले जोड दिनुभयो । प्रत्यक अस्पताल तथा स्वास्थ्य संस्थामा अक्सिजन सहितको बेडको व्यवस्थापन गर्न जिल्लाका तिन वटै पालिकाहरुलाई उहाँले अनुरोध समेत गर्नुभएको थियो । हाल जिल्लामा कोरोना रोकथाम तथा न्युनिरकणका लागि भैरहेका प्रयास र समस्या तथा चुनौती बारे गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी लगायतले प्रतिनिधि सभा सदस्य शर्मा समक्ष रिपोर्टिङ गर्नुभएको थियो ।