Kakhara सबैको खबर सम्पूर्ण खबर
मुख्यमन्त्रीबाट पत्रकार माथिको दुर्व्यवहार पूर्ण प्रेस स्वतन्त्रताकाे गम्भीर उल्लंघन: माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमले पत्रकार बलेन्द्र ओलीमाथि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गरेको दुर्व्यवहारको घटनाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै माओवादीले घटनाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

कार्तिक ६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतद्वारा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आयोजित प्रदेश विशेष कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रमको समाचार सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयको निमन्त्रणामा कार्यक्रमस्थल पुगेका पत्रकार प्रेस सेन्टर नेपालका जिल्ला सदस्य तथा कखरा अनलाइनका संवाददाता बलेन्द्र ओलीलाई मा. मुख्यमन्त्री यामलाल कँडेल स्वयंले अपमानजनक ढङ्गले हल बाहिर निकालेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ, जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा र जिल्ला संयोजक गोविन्द रोकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मुख्यमन्त्रीको यो हर्कतले पूर्ण प्रेस स्वतन्त्रताको गम्भीर उलंघन भएको समेत पार्टीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको निम्तोमा कार्यक्रम स्थलमा पुगेका पत्रकारलाई कार्यक्रमको प्रमुख अतिथिको रूपमा आसीन मुख्यमन्त्रीजस्तो व्यक्तित्वबाट यस प्रकारको दुर्व्यवहार हुनु मानवीय दृष्टिले अशोभनीय कार्य मात्र नभई संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको गम्भीर उलंघन भएको हाम्रो ठहर छ, विज्ञप्तिमा भनिएको छ ।

उक्त घटनाप्रति घोर निन्दा एवं खेद प्रकट गर्दै अब देखि यस्ता घटना हुन नदिन ध्यानाकर्षण गराउँदै यस घटनामा पत्रकार महासंघ केन्द्र, जिल्ला र प्रेस सेन्टर नेपाल रूकम पश्चिमले जनाएको विरोध प्रति माओवादी केन्द्रले ऐक्यबद्धता समेत जनाएको छ । 

IMG-20241023-WA0007-1729686875.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update