Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा पुनः बुढा 

रुकुम पश्चिम जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा पुनः अध्यक्षमा अनिल बुढा निर्वाचित हुनुभएको छ । शुक्रवार भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट बुढाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । सर्वसम्मत नयाँ नेतृत्व निर्वाचित भएको निर्वाचन अधिकृत अमरबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षमा नवराज गिरी र टङ्कलाल सन्न्यासी, सचिवमा विशाल विष्ट र कोषाध्यक्षमा ओपेन्द्र बोहरा निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा धनबहादुर नेपाली, दीपा खत्री, सौगात रोका, रामबहादुर विष्ट, गम्भीरमान पुन र हिरा घर्ती पुन निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । विधान अनुसार २ जना उपाध्यक्ष जिल्ला कार्य समितिले मनोनीत गर्ने र २ जना सदस्य जिल्ला खेलकुद विकास समितिले मनोनीत गर्ने अध्यक्ष बुढाले जानकारी दिनुभयो । निर्वाचनको सबै पक्रिया पुरा गरेर नयाँ नेतृत्व चयन गरिएको उहाँको भनाई छ ।

त्यस्तै साधारण सभा तथा अधिवेशनले सङ्घको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ ।  सचिव मनिष खड्काले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन र अध्यक्ष अनिल बुढाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास भएको हो । त्यस्तै परिवर्तित सङ्घको नाम र लोगो समेत साधारण सभा र अधिवेशनले अनुमोदन गरेको अध्यक्ष बुढाले जानकारी गराउनुभयो ।  

साधारण सभा तथा अधिवेशनको शुक्रवार नै जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर विकले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष अनिल बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिसस कार्यवाहक प्रमुख विकको प्रमुख र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्मा र प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै जिसस कार्यवाहक प्रमुख विकले जिल्लामा ब्याडमिन्टनको थप विकासका लागि प्रतिबद्ध भएर काम गर्न आग्रह गर्नुभयो । केही समयको अन्तरालमा जिल्लामा भएको ब्याडमिन्टनको विकास देखेर आफूलाई खुसी लागेको समेत उहाँले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्मा र प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले पनि जिल्लामा ब्याडमिन्टनको विकासका लागि जिल्ला ब्याडमिन्टन सङ्घले गरेको योगदानको प्रशंसा गर्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा रुकुम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले जिल्लामा ब्याडमिन्टन खेलको विकासका लागि उद्योग वाणिज्य सङ्घले जिल्ला ब्याडमिन्टन सङ्घसँग मिलेर काम गरिरहेको बताउनुभयो । भोलीका दिनमा पनि त्यसलाई निरन्तरता दिँदै निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो । 

कार्यक्रममा जिल्लास्थित खेलकुद सङ्घ सङ्गठनका प्रमुख तथा प्रतिनिधि लगायतका सरोकारवाला निकायको उपस्थिति रहेको छ । ब्याडमिन्टन सङ्घका निवर्तमान सदस्य ईश्वर रावलको स्वागत मन्तव्य रहेको उद्घाटन समारोहको सञ्चालन निवर्तमान सचिव मनिष खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update