Kakhara सबैको खबर सम्पूर्ण खबर
विपद् व्यवस्थापन काेषमा रूकुम पूर्वका स्थानीय तहकाे ५/५ लाख
जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित नयाँ भेरियन्ट सहितको कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धि जिल्ला स्तरीय समन्वय बैठक ।

काेराेना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि रुकुम पूर्वका तीन वटै गाउँपालिकाले ५/५ लाख रुपैया विपद व्यवस्थापन कोषमा राख्ने भएका छन् । जिल्ला समन्वय समितिको कार्यालयमा नयाँ भेरियन्ट सहितको कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धि जिल्ला स्तरीय समन्वय बैठकमा तीन वटै पालिकाले कोषमा ५/५ लाख रुपैंया राख्ने र काेष मार्फत खर्च गर्ने निर्णय भएको जिल्ला समन्वय समितिकी सुचना अधिकारी विमला रोका श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त बजेट खर्चको लागि तीनवटै गाउँपालिकाका अध्यक्ष रहने गरी जिल्ला स्तरीय बजेट खर्च व्यवस्थापन तथा समन्वय समिति गठन गरिने छ । यस्तै जिल्लास्थित कर्मचारी, जनप्रतिनिधि, निर्माण व्यवसायी, व्यक्ति र संघ संस्थालाई स्वइच्छाले कोषमा सहयोग गर्न आह्वान गरिएको छ । जिल्लामा अहिले कोरोना संक्रमितको उपचारको लागि बेड संख्या पर्याप्त छैन । यस्तै पछिल्लो समय अक्सिजन दिएर उपचार गर्ने बिरामीहरुको संख्या बढ्दै छ ।

यस्तो अवस्थामा अक्सिजन, औषधी, उपकरण र जनशक्ति सहितको १ सय बेड क्षमताको कोभिड विशेष अस्पताल सञ्चालनको लागि प्रदेश सरकार समक्ष अनुरोध गरि पठाउने र यसमा स्थानीय सरकारले आवश्यक सहयोग गर्ने निर्णय समेत बैठकबाट भएको छ । जिल्लामा अक्सिजन सिलिन्डर खरिद व्यवस्थापन गर्नुका साथै प्रयोगपछि खाली भएका सिलिन्डर रिफील तथा नियमित ढुवानीको लागि जिल्लामा रहेका सवारी साधनको परिचालन गरिने छ । सो कार्यको लागि एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर नियमित खटाइने छ ।

यसैविच भूमे गाउँपालिकामा सञ्चालनमा ल्याईएको कोभिड अस्थाई अस्पतालका जनशक्तिको लागि २०७७ चैत्र १९ पछि ६ महिनालाई तलब भत्ता सहितको कार्यक्रमलाई निरन्तरताको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरि पठाउने निर्णय पनि भएको छ । त्यस्तै कोभिड संक्रमणबाट मृत्यु हुनेहरुको दाहसंस्कार गर्नको लागि सिस्ने गाउँपालिका वडा नं। ६ को धाउने, वडा नम्बर ५ र भूमे ४ को धौलापहिरा क्षेत्रलाई तोेकिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update