Kakhara सबैको खबर सम्पूर्ण खबर
गैरिनेटा मेलामा आयोजित  भलिबल प्रतियोगितामा त्रिवेणी २ विजेता
फाइनल खेलमा प्रतिस्पर्धा गर्दै मुसिकोट ९ र त्रिवेणी २ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ र मुसिकोट नगरपालिका वडा नम्बर ९ को संगमस्थल गैरिनेटामा परम्परागत रूपमा लाग्दै आएको मेला सम्पन्न भएको छ । कात्तिक ६ गतेबाट सुरु भएको मेला शनिवार सम्पन्न भएको हो । मेलामा आयोजित पुरुष भलिबल प्रतियोगितामा मुसिकोट ९ चौखावाङलाई ३-२ को सेटमा हराउँदै  त्रिवेणी गाउँपालिका २ प्रथम भएको छ । प्रथम भएको त्रिवेणी २ ले नगद ८५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको मुसिकोट ९ ले नगद ४० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा  तेस्रो भएको मुसिकोट  ७ साँखले नगद २० हजार पुरस्कार  सहित मेडल प्रमाणपत्र प्राप्त गरेको मेला व्यवस्थापन समितिका अध्यक्ष अजय ओलीले जानकारी दिनुभयो । 

भलिबल प्रतियोगितामा रोल्पा रुकुम पश्चिमसहित १२ समूहले प्रतिस्पर्धा गरेका थिए  । मेला व्यवस्थापन समितिका अध्यक्ष ओलीका अनुसार लोक दोहोरी प्रतियोगितामा प्रथम प्रशान्त परियारको समूह, दोस्रो उमा बुढामगरको समूह र तेस्रो तेजु परियारको समूह भएको छ । लोक दोहोरी प्रतियोगितामा प्रथम भएको समूहले ४ हजार सहित प्रमाणपत्र, दोस्रो भएको समूहले २५ सय सहित प्रमाणपत्र र तेस्रो भएको समूहले १५ सय सहित प्रमाणपत्र  प्राप्त गरेको छ ।

त्यस्तै एकल नृत्यमा अञ्जना केसी प्रथम, आहाना बिसी दोस्रो र अजिता बिसी तेस्रो हुनुभएको छ । एकल नृत्यमा प्रथम स्थान हासिल गर्नेलाई ३ हजार पुरस्कार सहित प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई २ हजार पुरस्कार सहित प्रमाणपत्र र तेस्रो स्थान हासिल गर्नेलाई १५ सय पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको मेला व्यवस्थापन समिति अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

मेला नाच प्रस्तुत गर्ने आमा समूह, मयुर नाचका साथै मेलामा सहयोग पुर्‍याउने व्यक्तिलाई सम्मान समेत  गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update