Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड जारी 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड जारी छ । कार्तिक ९ गतेबाट सुरु भएको शिल्ड भोली सोमबार सकिने सानीभेरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भूपालसिंह बिष्टले जानकारी दिनुभयो । शिल्डमा गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालय (९–१२)का विद्यार्थीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । करिब ४ सय विद्यार्थीहरूले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरिरहेको बिष्टले बताउनुभयो ।

शिल्डका प्रतिस्पर्धा आज सकिने र सोमबार पुरस्कार वितरण तथा समापन हुने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिष्टले जानकारी गराउनुभयो । शिल्ड वडा नम्बर ३ को बेलटापु खेल मैदानमा चलिरहेको छ । अहिलेसम्म मर्यादित र शान्तिपूर्ण वातावरणमा शिल्ड सञ्चालन भइरहेको बताइएको छ ।

शिल्डमा छात्र, छात्रा भलिबल, छात्र, छात्रा  १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार दौड मिटर तथा विभिन्न दुरीको रिले दौड समावेश छ । त्यस्तै छात्र, छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, तेक्वान्दो र कराँते पनि शिल्डमा समावेश छ ।

यो शैक्षिक सत्रमा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने सानीभेरी जिल्लाको पहिलो स्थानीय तह बनेको छ । अन्य पाँच पालिकाले भने शिल्ड आयोजना गरिसकेका छैनन् । यो वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मुसिकोट नगरपालिकामा हुँदै छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update