Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पताल सल्लेमा हाडजोर्नीको विशेषज्ञ सेवा सुरु 

रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा केही समय रोकिएको हाडजोर्नीको विशेषज्ञ सेवा सुचारु भएको छ । तत्कालीन स्वास्थ्य सेवा व्यवस्थापक हाडजोर्नी विशेषज्ञ डाक्टर सुशील पोखरेल सरुवा भएपछि हाडजोर्नीको विशेषज्ञ सेवा रोकिएको थियो । तर हाडजोर्नी सम्बन्धी अन्य सेवा भने निरन्तर थियो । 

जिल्ला अस्पतालमा हाडजोर्नी विशेषज्ञ डाक्टर मिजास कोइराला आएपछि विशेषज्ञ सेवा समेत सुचारु भएको स्वास्थ्य सेवा व्यवस्थापक बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाइले जानकारी दिनुभयो । केही समय रोकिएको हाडजोर्नीको विशेषज्ञ सेवा पुनः सुचारु भएको उहाँले बताउनुभयो । 

‘तत्कालीन स्वास्थ्य सेवा व्यवस्थापक हाडजोर्नी विशेषज्ञ डाक्टर सुशील पोखरेलको सरुवा भएपछि हाडजोर्नीको विशेषज्ञ सेवा केही समय रोकिन पुगेको थियो, तर अब भने नयाँ हाडजोर्नी विशेषज्ञ डाक्टरको व्यवस्थापन गरेका छौँ, उहाँले भन्नुभयो–अब नियमित रूपमा हाडजोर्नी सम्बन्धी विशेषज्ञ सेवा प्रदान हुने छ ।’ 

उहाँका अनुसार विशेषज्ञ बाहेकको हाडजोर्नी सम्बन्धी सेवा भने रोकिएको थिएन । माइनर अप्रेसन, ओपिडी लगायतका सेवा यसअघिबाटै नियमित रहेकामा विशेषज्ञ डाक्टरबाट हुने परामर्श, मेजर अप्रेसन लगायतका सेवा पनि अब नियमित रूपमा प्रवाह हुने उहाँको भनाई छ । 

अस्पताल विकास समितिबाट नयाँ हाडजोर्नी विशेषज्ञ अर्थात् अर्थोपेडिक डाक्टरको व्यवस्थापन गरेको उहाँले बताउनुभयो । गत साउन तेस्रो साता देखि जिल्ला अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा रोकिएको थियो ।

हाल जिल्ला अस्पतालमा हप्तामा तीन दिन सोमबार, बुधवार र शुक्रवार हाडजोर्नी सम्बन्धी ओपिडी सेवा प्रवाह भइरहेको छ भने हाडजोर्नी सम्बन्धी इमरजेन्सी सेवा २४ सै घण्टा दिइरहेको प्रमुख डाक्टर चौलागाइले बताउनुभयो । 

हाल जिल्ला अस्पतालबाट हाडजोर्नी तथा नसा, महिला तथा स्त्री रोग र बाल रोग विशेषज्ञ सेवा दिइरहेको उहाँले बताउनुभयो । त्यस्तै समग्र रोगको विशेषज्ञ सेवा समेत प्रदान भइरहेको छ । अस्पतालमा तीन जना विशेषज्ञ (एम.डी) र एक जना एमडी इन जनरल प्राक्टिस (एमडिजिपी) ले सेवा दिइरहनुभएको छ । 

अस्पतालको सेवालाई प्रभावकारी बनाउने गरी लागि रहेको उहाँको भनाई छ ।  हाल अस्पतालमा विशेषज्ञ सहितको जनशक्ति रहेको र उक्त जनशक्तिको प्रयोग गरेर सेवालाई प्रभावकारी र गुणस्तरीय बनाइरहेको बाल रोग विशेषज्ञ डाक्टर चौलागाइले बताउनुभयो । जनशक्तिको व्यवस्थापन सँगै उपकरणको व्यवस्थापनमा पनि ध्यान केन्द्रित गरिएको उहाँको भनाई छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update