रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपती रनिङ शिल्डको उपाधी जितेसंगै राप्ती ज्ञानोदय मावि सिम्लीले शिल्ड हात पारेको छ । लगातार तीन वर्ष जित निकाल्दै ज्ञानोदय मावि सिम्लीले शिल्ड हात पारेको हो । ज्ञानोदय मावि सिम्लीले चौथो, पाँचौ र छैटौँ राष्ट्रपती रनिङ शिल्ड जितेर शिल्ड हात पारेको सानीभेरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भुपालसिङ विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार छैटौँ राष्ट्रपती रनिङ शिल्डमा ज्ञानोदय मावि सिम्ली २१ स्वर्ण, ११ रजत र ४ कास्य पदकसहित ३६ पदक प्राप्त गरी प्रथम भएको छ । त्यस्तै वडा नम्बर ४ मा रहेको सानीभेरी मावि बलिवाङले ६ स्वर्ण, ८ रजत र १३ कास्य पदक गरी २७ पदक प्राप्त गर्दै दोस्रो भएको छ । ६ स्वर्ण, ७ रजत र कास्य ११ गरी २४ पदक प्राप्त गरी वडा नम्बर ३ मा रहेको सुर्योदय मावि बेल्टापु तेस्रो स्थान प्राप्त गर्दा वडा नम्बर ५ मा रहेको नेपाल राष्ट्रिय मावि घापाघारले २ स्वर्ण, ४ रजत र ३ कास्यसहित ९ पदक प्राप्त गरी सान्तवना स्थान प्राप्त गरेको शाखा प्रमुख विष्टले जानकारी दिनुभयो ।
कात्तिक ९ गतेबाट बेल्टापु रंगशालामा सुरु भएको छैटौँ राष्ट्रपती रनिङ सोमबार सकिएको हो । शिल्डमा भलिबल, हाइजम्प, लङजम्प, दौड, तेक्वादो सहित २० वटा प्रतियोगितामा ९ वटा माविका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । शिल्डमा स्थान प्राप्त गर्ने सवै विद्यार्थीलाई पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विष्टले जानकारी दिनुभयो ।
शिल्ड ज्ञानोदय मावि सिम्लीले जितेसँगै अव गाउँपालिकाले नयाँ शिल्ड खरिद गरी शिल्ड आयोजना गर्ने छ ।