परम्परागत रुपमा लाग्दै आएको रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ राडिज्युलामा अवस्थित चौतारा मेला यस वर्ष पनि लाग्ने भएको छ । यही कात्तिक २२ गतेदेखि ३१ औँ चौतारा मेला लाग्ने भएको हो । मेलामा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिताको पुरस्कार राशि मात्रै ११ लाख ८ हजार ८ सय ८७ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
महिला, पुरुष भलिवल, ब्याडमिन्टन, घैटौँ फोर र रस्साकस्सी गरी पाँच वटा खेदकुद प्रतियोगिता आयोजना गरिएको छ । भने सांस्कृतिक कार्यक्रम तर्फ पैसेरु, सिङगारु, टप्पा र मयुरु नाच पनि राखिएको चौतारा मेला आयोजक समितिका अध्यक्ष दिलिप बटालाले जानकारी दिनुभयो । उहाँका अनुसार सांस्कृतिक कार्यक्रममा सहभागि हुने समुहलाई दुरीका हिसावले ६ हजारदेखि १० हजार रुपैयाँसम्म पुरस्कारको व्यवस्था गरिएको छ ।
मेलामा सवैभन्दा बढी पुरस्कार पुरुष भलिवल प्रतियोगिताको राखिएको छ । पुरुष भलिवल प्रतियोगिताको प्रथम स्थान प्राप्त गर्ने समुहले नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने समुहले नगद २ लाख २ हजार २२ रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गर्र्ने समुहले १ लाख १ हजार ११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला आयोजक समितिका अध्यक्ष बटालाले जानकारी दिनभयो । पुरुष भलिवल प्रतियोगिता खुल्ला आयोजना गरिएको छ । भने दर्ता शुल्क १० हजार रहेको छ ।
महिला भलिवल तर्फ प्रथम पुरस्कार १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित मेडल प्रमाणपत्र, दोस्रो पुरस्कार १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र र तेस्रो पुरस्कार ७५ हजार ५ सय ५५ रुपैयाँ सहित मेडल र प्रमामपत्र रहेको छ । महिला भलिबल पालिका स्तरिय रहेकामा ३ जना खेलाडी पालिका बाहिरको राख्न पाइने आयोजकले जनाएको छ । दर्ता शुल्क ८ हजार रहेको छ ।
यस्तै पुरुष ब्याडमिन्टन प्रतियोगितामा विजेता हुने समुहले नगद ८० हजार पुरस्कार सहित प्रमाणपत्र र उपविजेता हुने समुहले ६० हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछ । दर्ता शुल्क ३ हजार रहेको छ । घैटोँफोर प्रतियोगितामा विजेता हुनेले ५ हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछ । दर्ता शुल्क ५ सय रहेको छ । त्यसैगरी रस्साकस्सी प्रतियोगितामा विजेता हुने समुहले १० हजार र उपविजेता हुने समुहले ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्ने मेला आयोजक समितिका अध्यक्ष बटालाले जानकारी दिनुभयो । रस्साकस्सी प्रतियोगिताको दर्ता शुल्क ५ सय रहेको छ । मेला उद्घाटन कात्तिक २२ गते हुने आयोजकले जनाएको छ ।