Kakhara सबैको खबर सम्पूर्ण खबर
तिर्थ स्मृति पर्यटन पार्कको उद्घाटन 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रिनदहमा तिर्थ स्मृति पर्यटन पार्कको उद्घाटन गरिएको छ । त्यस्तै पार्कमा निर्माण गरिएको स्वर्गीय तिर्थ पुनको सालिक अनावरण समेत गरिएको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले आज एक कार्यक्रमका बिच पार्कको उद्घाटनका साथै सालिक अनावरण गर्नुभएको हो । 

साबिक साँख गाविस वडा नम्बर ५ हालको मुसिकोट नगरपालिका वडा नम्बर ७ खालबोट निवासी तिर्थबहादुर पुनको २०७३ साल श्रावण २१ गते मुसिकोट नगरपालिका वडा नम्बर ६ कानेवाङमा भएको जिप दुर्घटनामा परी मृत्यु भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका उहाँको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । 

Tirtha-Park-2081-02-1730205105.jpg
पुन राजनीति तथा सामाजिक कार्यमा अग्रसर हुनुहुन्थ्यो । उहाँ तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सामेल हुनुभएको थियो । २०५२ साल देखि नै उहाँ माओवादीको प्राविधिक विभागमा जोडिनुभएको थियो । उहाँले युद्धकालमा हतियार निर्माणको काम गर्नुभएको थियो । 

उहाँको स्मृतिमा उहाँका परिवारले पार्क निर्माण गरेका हुन् । पार्क निर्माणमा २० लाख २३ हजार ६ सय ७३ रुपैयाँ कुल लागत लागेको उहाँका छोरा लोकेन्द्र पुनले जानकारी दिनुभयो । विभिन्न व्यक्ति तथा संस्थाहरूसँग सहयोग जुटाएर पार्क निर्माण गरिएको उहाँले बताउनुभयो । यो कार्यमा देश तथा विदेशमा रहेका व्यक्तिहरूले सहयोग गरेको उहाँको भनाई छ । 

Tirtha-1730205093.jpgबुवाले राजनीति तथा समाज सेवाबाट समाजमा पुर्‍याएको योगदानको स्मरण र भोलीका पुस्तालाई उहाँको योगदान बारे जानकारी गराउने उद्देश्यले बुवाको सम्झनामा पार्क निर्माण गरिएको उहाँले बताउनुभयो । पार्क निर्माणमा सहयोग गर्नेहरूलाई उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो । 

पार्कको बिचमा सालिक निर्माण गरिएको छ भने पार्क स्थलमा बगैँचा र प्रतीक्षालय पनि निर्माण गरिएको छ । त्यस्तै पार्कमा ठुलो आकारको नेपालको झन्डा समेत राखिएको छ भने पार्कलाई वरिपरि तारबार गरेर संरक्षण गरिएको छ । चयरीपानी सामुदायिक वन क्षत्रमा पार्क निर्माण गरिएको हो । पार्क मध्यपहाडी लोकमार्गको छेवैमा रहेको छ ।

पार्कको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री राजकुमार शर्माले तिर्थ पुन वैज्ञानिक रहेको बताउनुभयो । सामान्य साक्षर हुँदा पनि तिर्थले आधुनिक हातहतियार निर्माण गरेर पार्टी र समाजका लागि योगदान गरेको भन्दै पूर्व मुख्यमन्त्री शर्माले तिर्थको योगदानको स्मरण गर्नुभयो । 

Tirtha-parka-07-1730205102.jpg
‘सामान्य लेखपढ गरेर पनि तिर्थले ठुलठुला हतियारको आविष्कार गर्नुभयो, जमिनबाटै हेलिकोप्टर खसाल्न सक्नेसम्मका हातहतियार उहाँले निर्माण गर्नुभएको थियो, व्यवस्था परिवर्तनका लागि उहाँले खेलेको भूमिकाको जति तारिफ गरे पनि कमै हुन्छ, पूर्व मुख्यमन्त्री शर्माले भन्नुभयो–युद्धकालमा मात्र होइन शान्ति प्रक्रियापछि पनि उहाँले समाज रूपान्तरणमा खेलको भूमिका अविस्मरणीय छ, उहाँको सम्झनामा परिवारजनले सरकार र पार्टीले गर्नुपर्ने काम गर्नुभएको छ, यसका लागि म धन्यवाद दिन चाहन्छु ।’ 

पार्कलाई थप व्यवस्थित गर्न र पार्कको संरक्षणका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो । 

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले तिर्थ पुनको मृत्युले पार्टीलाई अपूरणीय क्षति पुगेको र उक्त क्षति पूर्ति गर्न नसकिने बताउनुभयो । युद्धकाल तथा शान्ति स्थापनापछि समेत तिर्थले समाजको बृहत्तर हितका लागि गरेको योगदानको युगौँ स्मरण हुने उहाँको भनाई छ । यो पार्कले तिर्थ पुनलाई जीवित तुल्याएको समेत उहाँले बताउनुभयो । यसलाई थप व्यवस्थापन गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने र यसका लागि पार्टी गम्भीर रहेको रोकाले बताउनुभयो । 

Tirtha-Park-06-1730205108.jpg
कार्यक्रममा नेपाल सरकारका पूर्व सह सचिव भरतकुमार शर्मा, नेकपा माओवादी केन्द्रका मुसिकोट अध्यक्ष दलबहादुर खड्का, मुसिकोट नगरपालिका ६ का वडाध्यक्ष भानु मल्ल, १० का अध्यक्ष धनबहादुर खड्का सहित नगर कार्यपालिका सदस्य, वडा सदस्य लगायतका जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार, वन समूह, महिला समूह, स्थानीय लगायतको उपस्थिति रहेको थियो । 

मुसिकोट ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय तिर्थ पुनका छोरा लोकेन्द्र पुनले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र मुसिकोट ७ का अध्यक्ष प्रकाश विकले गर्नुभएको थियो । कार्यक्रममा पञ्चेबाजा, मयुर नाच सहित आमा समूहले पनि नाच देखाएका थिए । स्वर्गीय तिर्थका परिवार र चयरीपानी सामुदायिक वन उपभोक्ता समितिले संयुक्त रूपमा उद्घाटन कार्यक्रम आयोजना गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update