रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आर्थिक अभावका कारण झण्डै आधा वर्षसम्म बन्द भएको पिसिआर प्रयोगशाला पुनः संचालनमा आएको छ । बजेट अभावका कारण किट, जनशक्ति तथा आवश्यक सामग्रिहरुको व्यवस्थापनमा समस्या हुँदा प्रयोगशाला बन्द भएको थियो ।
तर जिल्लामा पनि नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड–१९)को लहर तिव्र गतिमा फैलिएपछि नगरपालिकाले पुनः प्रयोगशाला संचालनमा ल्याएको हो । तत्काललाई करिब २ सय किट खरिद गरेर बिहिबार देखि प्रयोगशाला संचालनमा ल्याईएको नगर स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले जानकारी दिनुभयो ।
कोरोनाको संक्रमण दर बढे संगै नगरपालिका आफैले किट, पिपिइ सेट लगायतका सामग्रि र जनशक्ति व्यवस्थापन गरेर प्रयोगशाला संचालनमा ल्याएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले दिनमा २३ वटा नमूनाको परीक्षण भइरहेको छ । केहि सामग्रि र जनशक्ति अभावका कारण प्रयोगशालाको क्षमताको ५० प्रतिशत मात्र नमूना परीक्षण भैरहेको बताईएको छ ।
त्यस्तै प्रयोगशालाका लागि कर्णाली प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको जानकारी आएपनि उक्त बजेट आईनसकेको नगरपालिकाले जनाएको छ । कोरोना संक्रमण दर बढेसंगै चौरजहारी नगरपालिकाले आफ्नै लगानीमा गत वर्ष प्रयोगशाला संचालनमा ल्याएको थियो ।
सुरुमा १ करोड २३ लाख खर्चिएर नगरपालिकाले प्रयोगशाला स्थापना गरेको थियो । तर प्रयोगशाला संचालनका लागि प्रदेश, संघ र अन्य स्थानीय तह कसैले पनि सहयोग नगर्दा सुरु देखि नै प्रयोगशाला आर्थिक अभावमा परेको थियो । आर्थिक अभावकै विचमा लामो समय संचालन भएको प्रयोगशाला आर्थिक अभावकै कारण कोरोना संक्रमण कम भएपछि बन्द गरिएको थियो ।।