Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमको मुसिकोट १० बाट घाइते चितुवाको बच्चाको उद्धार, उपचार हुँदै 
घाइते अवस्थामा उद्धार गरिएकाे चितुवा ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० बाट घाइते अवस्थामा चितुवाको बच्चाको उद्धार गरिएको छ । डिभिजन वन कार्यालयले वडाको कालापहाड खोला जङ्गलबाट बुधवार बिहान घाइते अवस्थामा करिब तीन, चार महिनाको चितुवाको पोथी बच्चालाई उद्धार गरेको हो । उक्त चितुवाको टाउकोमा चोट लागेको कायममुकायम डिभिजनल वन अधिकृत शेरबहादुर परियारले जानकारी दिनुभयो । उहाँका अनुसार चितुवाको बच्चाको अहिले पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिममा उपचार चलिरहेको छ । टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

जङ्गलमा घाइते अवस्थामा चितुवाको बच्चा फेला परेपछि स्थानीयले डिभिजन वन कार्यालयमा खबर गरेका थिए । त्यसपछि वन रक्षक रणबहादुर परियारको नेतृत्वमा कार्यालयबाट खटिएको ६ जनाको टोलीले चितुवाको बच्चालाई उद्धार गरी पशु अस्पताल तथा पशु सेवा कार्यालयमा पुर्‍याएको हो । पूर्ण रूपमा निको भएपछि उक्त चितुवालाई वासस्थानमा लिएर छाडिने डिभिजन वन कार्यालयका प्रमुख कायममुकायम डिभिजनल वन अधिकृत परियारले जानकारी दिनुभयो । जिल्लामा पहिलो पटक चितुवालाई उद्धार गरिएको उहाँको भनाई छ ।

2ffa29ab-c682-4153-9fc5-8268aeab7ccc-1730275505.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update