गत साउन १३ गते अमेरिकामा मारिएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० सेजेका ३० वर्षीय दीपक ओलीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । अमेरिकामा रहेका युवाहरुको पहलमा संकलन भएको रकम आज दिपकको बुवा लिले ओलीलाई घरमै पुगेर हस्तान्तरण गरिएको हो । खड्क पुन र हिरा पुनको नेतृत्वमा अमेरिकामा संकलन भएको ६ लाख १३ हजार ६ सय ६८ रुपैयाँ मृतक दिपकको बुवा लिले ओलीलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष हरिबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार १९ जना सहयोगिदाताहरुबाट उक्त रकम संकलन भएको हो । सहयोग संकलन भएको रकम घरपरिवार सम्म पुर्याउन सहयोग गर्ने बाँफिकोट गाउँपालिका ४ निवासी लालसिंह केसी, शुनिल केसी र चन्द्रबहादुर खड्कालाई वडा अध्यक्ष चन्दले धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । यसअघी पनि वडा अध्यक्ष चन्दको पहलमा सङ्कलन भएको १४ लाख ४६ हजार ९ सय ३२ रुपैयाँ र नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीको नेतृत्वमा सङ्कलन भएको ७ लाख ७० हजार ६ सय रुपैयाँ गरी दीपकको परिवारलाई कुल २२ लाख १७ हजार ५ सय ३२ रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
८० लाख रुपैयाँ खर्चिएर गत वर्ष अमेरिका गएका दीपकको गत साउन १३ गते काममै रहेको बेला बन्दुकधारी लुटेराले गोली प्रहार गरी हत्या गरेका थिए । उनी टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको एक ग्याँस स्टेसनमा कार्यरत थिए । दीपकको घरमा आमा बुवा दुईवटा भाइ सहित श्रीमती र एक छोरी रहेकी छन् ।