रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ बेलटापुमा आयोजित पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि चौरजहारी नगरपालिकाले जितेको छ । बुधवार भएको फाइनलमा मुसिकोट नगरपालिकालाई पराजित गर्दै चौरजहारीले उपाधि जितेको हो । टस हारेर पहिला ब्याटिङ गरेको मुसिकोट नगरपालिकाले निर्धारित १२ ओभरमा ८६ रन बनाएको थियो । ८७ रनको लक्ष पछ्याएको चौरजहारीले अन्तिम बलमा लक्ष पुरा गरेको थियो । विजेता चौरजहारीले नगद ६० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उप विजेता मुसिकोट नगरपालिकाले नगद ४० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक सानीभेरी खेलकुद विकास समितिले जनाएको छ । त्यस्तै प्रतियोगितामा आयोजक र आठबिसकोट सान्त्वना भएका छन् । सान्त्वनालाई नगद १५ हजार, कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक सानीभेरी खेलकुद विकास समितिका सदस्य सचिव बालकुमार नकालले जानकारी दिनुभयो । त्यस्तै व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिएको छ ।
प्लेयर अफ द टुर्नामेन्ट चौरजहारी नगरपालिकाका गोपाल केसी बन्दा वेस्ट ब्याट्सम्यान मुसिकोट नगरपालिकाका अर्जुन घर्ती र वेस्ट बलर आठबिसकोटका सुशील नेपाली बनेका छन् । प्लेयर अफ द सिरिजले ३ हजार, वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले समान २ हजार, मेडल र प्रमाण पत्र पाएका छन् भने प्रत्येक खेलका म्यान अफ द म्याचले नगद ५ सय, मेडल र प्रमाणपत्र प्राप्त गरेको नकालले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा विभिन्न ठाउँका १९ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।
क्रिकेट विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । खेल पालिका स्तरीय भए पनि एउटा टिमले पालिका भन्दा बाहिरका ३ जना खेलाडी राखेका थिए ।