डोल्पामा जारी चौथो मेयर कप पालिका स्तरीय पुरुष खुला भलिबल प्रतियोगिताको फाइनलमा रुकुम पश्चिमका दुई पालिकाले प्रतिस्पर्धा गर्ने भएका छन् । जिल्लाका सानीभेरी र बाँफिकोट गाउँपालिका फाइनल पुगेका छन् । बुधवार भएको सेमिफाइनलमा यार्सा स्पोर्ट्स क्लब माझफाललाई सोझो सेटमा हराउँदै सानीभेरी फाइनलमा पुगेको हो । त्यस्तै त्रिपुरासुन्दरी ५ र ६ को संयुक्त भलिबल टिमलाई हराउँदै बाँफिकोट फाइनल पुगेको हो । फाइनल खेल बिहीबार आज हुने छ ।
प्रतियोगितामा यार्सा स्पाेर्ट्स क्लब तेस्रो भएको छ । बुधवार तेस्रो स्थानका लागि भएको खेलमा यार्सा स्पोर्ट्स क्लब माझफालले त्रिपुरासुन्दरी ५, ६ को संयुक्त टोलीलाई पराजित गरी तेस्रो स्थान हासिल गरेको हो । यो जिल्लाको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो ।
कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाभित्र र बाहिरका गरेर १९ भलिबल टिम सहभागी भएका थिए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरेर खेलाइएको थियो ।
प्रतियोगिताको विजेताले तीन लाख नगद सहित ट्रफी र मेडलसहित प्रमाणपत्र गर्ने आयोजक त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हीराचन्द्र धरलाले जानकारी दिनुभयो । उहाँका अनुसार उप विजेताले दुई लाख नगद सहित ट्रफी र मेडलसहित प्रमाणपत्र प्राप्त गर्दा तृतीय हुने टिमले १ लाख नगद सहित ट्रफी र मेडलसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । यसै गरी प्रतियोगितामा सान्त्वना हुने टिमले २० हजार नगद प्राप्त गर्ने छ ।
प्रतियोगितामा विभिन्न व्यक्तिगत विधामा समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक त्रिपुरासुन्दरी नगरपालिकाले जानकारी दिएको छ ।