रुकुम पश्चिममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्म जयन्ती मनाइएको छ । जिल्ला सदरमुकाम खलङ्गाको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा रहेको लक्ष्मी बाटिकामा औपचारिक कार्यक्रमको आयोजना गरी लक्ष्मी जयन्ती मनाइएको हो ।
कार्यक्रममा सहभागीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकमा अबिर आवरण सहित माल्यार्पण गरी श्रद्धा प्रकट गरेका थिए । सहभागीहरूले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्व बारे परिचर्चा गर्नुका साथै रचना वाचन गरेका थिए ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले कार्यक्रमको आयोजना गरेको हो । परिषद्का उपाध्यक्ष एक्कबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका पूर्व सचिव तथा रुकुम साहित्यमालाका प्रवर्तक भरतकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
रुकुमेली क्याम्पसका प्रमुख तथा जनविकास पुस्तकालयका अध्यक्ष मीनबहादुर पुन, राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य तथा रुकुमेली वाङमय अधिष्ठानका सचिव पूर्णबहादुर ओली र मुसिकोट खलङ्गाका बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा समालोचक मुकुन्दप्रसाद शर्माको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै साहित्य सर्जक लेखनाथ शर्मा, हरिपबन पहर खड्का, जनुकाकुमारी शाही, भगवती शाही, चिन्ता शाही, सर्मिला हमाल, लक्ष्मी रावल लगायत दर्जन बढी साहित्य सर्जकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो ।