डोल्पामा आयोजित चौथो त्रिपुरा सुन्दरी मेयर कप पालिका स्तरीय पुरुष खुला भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जितेको छ । बिहीबार भएको फाइनलमा रुकुम पश्चिमकै बाँफिकाेट गाउँपालिकालाई ३-१ को सेटमा पराजित गर्दै सानीभेरीले उपाधि जितेको हो ।
सानीभेरीबाट चर्चित खेलाडी पहल गहतराज, सुरेन्द्र केसी, नवीन ओली यदु लगायतका खेलाडी थिए । सानीभेरीले विजेता बन्दै नगद ३ लाख पुरस्कार जितेको छ । कप, मेडल र प्रमाणपत्र पनि हात पारेको छ ।
उपविजेता बनेको बाँफिकाेट गाउँपालिकाले २ लाख, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक त्रिपुरा सुन्दरी नगरपालिकाले जनाएको छ । बुधवार भएको सेमिफाइनलमा यार्सा स्पोर्ट्स क्लब माझफाललाई सोझो सेटमा हराउँदै सानीभेरी र त्रिपुरासुन्दरी ५ र ६ को संयुक्त भलिबल टिमलाई हराउँदै बाँफिकोट फाइनल पुगेका थिए ।
प्रतियोगितामा यार्सा स्पाेर्ट्स क्लब तेस्रो भएको छ ।बुधवार तेस्रो स्थानका लागि भएको खेलमा यार्सा स्पोर्ट्स क्लब माझफालले त्रिपुरासुन्दरी ५, ६ को संयुक्त टोलीलाई पराजित गरी तेस्रो स्थान हासिल गरेको हो । तृतीयले १ लाख र सान्त्वनाले २० हजार पुरस्कार पाएका छन् । यो जिल्लाको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो ।
कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाभित्र र बाहिरका गरेर १९ भलिबल टिमले प्रतिस्पर्धा गरेका थिए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरेर खेलाइएको थियो ।