रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ९ का अध्यक्ष सुरवहादुर रोकाले एकलौटी रुपमा स्वास्थ्य चौकी भवन निर्माण गर्न खोजेको भन्दै रोक्न माग गरिएको छ । कुनै छलफल विना वडावासीको अपायक पर्ने ठाउँमा वडाध्यक्षले एकलौटी रुपमा भवन निर्माण सुरु गरेको भन्दै राजनितिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजिविहरुले काम रोक्न माग गरेका हुन् ।
संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै गुपचुपमा कोही कसैलाई जानकारी नगराई जग्गा पास गरी काम सुरु गरेको उल्लेख गर्दै उक्त काम रोक्न जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई भनिएको छ । नेकपा एमालेका प्रतिनिधि रविन्द्र ओली, प्रदिप समाल र कालीवहादुर विक, माओवादी केन्द्रका लिलाराम समाल र दलवहादुर रोका, जनता समाजवादी पार्टीका हर्कप्रसाद रोका, नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि पुर्स रोका तथा स्थानीय बुद्धिजिवि भागिमान छन्त्यालको हस्ताक्षरमा संयुक्त विज्ञप्ती जारी गरिएको छ ।
उता वडाध्यक्ष सुरवहादुर रोकाले भने राजनितिक पूर्वाग्रह राखेर काम गर्न नदिने षडयन्त्र भइरहेको बताउनुभयो । ‘सबैको पायक पर्ने ठाउँमै स्वास्थ्य भवन बन्न लागेको छ, सबै गाउँलेलाई वसालेर सबैको सहमतिमा भवन निर्माण सुरु भएको हो, उहाँले भन्नुभयो, राजनितिक पूर्वाग्रह राखेर वडालाई काम गर्न नदिने षड्यन्त्र भइरहेको छ, यो पनि षड्यन्त्र नै हो ।’
वडा कार्यालय रहेको ठाउँमा भवन निर्माणका लागि जग्गा खोजि गरेपनि कसैले जग्गा नदिएको र त्यहाँ जग्गा नपाईएपछि त्यसको केहि पर जग्गा प्राप्त भएकाले उक्त ठाउँमा भवन निर्माणका काम सुरु भएको उहाँले बताउनुभयो । ‘कुनै वन जंगलमा भवन निर्माण गर्न लागेका छैनौं, सडक पनि पुगेको, सबै गाउँलेलाई पायक पर्ने ठाउँमै भवन बन्न लागेको छ, भनेको ठाउँमा जग्गा दिएनन् त अनि कामै नगरेर बस्नु उहाँले प्रश्न गर्नुभयो ।’