Kakhara सबैको खबर सम्पूर्ण खबर
जाजरकोट भूकम्पको १ वर्ष पूरा, प्रभावितले अस्थायी आवासकै रकम पाएनन्, पुनर्निर्माण झन कहिले ?

जाजरकोट भूकम्प गएको एक वर्ष पूरा भएको छ । गत वर्षको कार्तिक १७ गते राति ११ः४७ मा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्कलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५४ जनाको मृत्यु भएको थियो । जसमा जाजरकोटका एक सय एक र रुकुम पश्चिममा ५३ जना रहेका छन् । 

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम सहित सल्यान लगायतका जिल्लामा पनि भौतिक क्षति भएको छ । जाजरकोट र रुकुम पश्चिममा मात्र ६० हजार बढी घर बस्नै नमिल्ने गरी भत्किएको विवरण छ । रुकुम पश्चिममा मात्र ३२ हजार ९ सय ९६ लाभग्राही कायम भएका छन् । जिल्लामा हालसम्म ३२ हजार २ सय २ वटा अस्थायी आवास सरकारी अनुदानबाट निर्माण भएका छन् । ५ सय २३ वटा आवास निर्माणाधीन अवस्थामा रहेकाे जिल्ला प्रशासनकाे विवरण छ । ४ सय ९ वटा आवास विभिन्न संघसंस्थाबाट निर्माण भएका छन् । 

अस्थायी आवासका लागि जिल्ला विपत् व्यवस्थापन समितिबाट ८२ कराेड ४९ लाख रुपैयाँ स्थानीय विपत् व्यवस्थापन काेषमा पठाइएकाे छ । भूकम्प गएको एक वर्षसम्म पनि भूकम्प प्रभावितहरु अस्थायी टहरामै छन् । केही लाभग्राहीले त अस्थायी अवासका लागि पहिलो किस्ता नै पाउन सकेका छैनन् । केन्द्रबाटै रकम नआउदा पहिलो किस्ता वितरणमा ढिलाई भएको जिल्ला प्रशासन कार्यालय बताउँछ । 

दोस्रो किस्ता वितरण समेत सुस्त छ । भूकम्प गएको १ वर्षमा पनि लाभग्राही कायम भएका मध्य आधा जतिले मात्र दुवै किस्ता पाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार साढे १६ हजार जतिले पहिलो र दोस्रो दुवै किस्ता पाएका छन् । बाँकी रहेका लाभग्राहीले पहिलो र दोस्रो किस्ता कहिले पाउँछन भन्ने जवाफ कसैसंग छैन् । 

रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद रेग्मी आफूहरुको हातमा केही पनि नरहेको र माथिबाट बजेट आयो भने अड्काएर नराख्ने बताउनुहुन्छ । ‘सबै कुरा माथिकै हातमा छ, हामीले जिल्लाबाट सबै प्रक्रिया पुरा गरेर पठाइदिएका छौं, माथिबाट नै बजेट नआएका कारणले पहिलो र दोस्रो किस्ता वितरणमा समस्या भएको हो, उहाँले भन्नुभयो ।’ 

भूकम्प पीडितले अस्थायी आवासकै लागि एक वर्षसम्म अनुदान रकम नपाउँदा पुनर्निर्माण झनै अन्योलमा परेको छ । अस्थायी आवासमै यति धेरै समय लागेपछि अब घर पाइनेमा भूकम्प प्रभावितले आश मार्दै गएका छन् । भूकम्प प्रभावितले तत्काल पुनर्निर्माणको माग गर्दापनि सरकारले भने पुनर्निर्माण सम्बन्धी कार्यविधि नै पास गर्न सकेको छैन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update