Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्पको एक वर्ष पूरा: टहरामै तिहार, पीडितलाई सुरक्षित आवासको चिन्ता
फाइल फाेटाे ।

दसैँ आयो तिहार आयो घर आँगन न छोएरै जान लाग्याे । नेपालीहरूको महान् पर्व, पर्वमै सीमित होला भन्ने लागेको थिएन । यसपालिको दसैँ तिहार पनि टहरामा सीमित भयो !

रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडितको पीडा हो । भूकम्प पीडितको घर आँगनमा तिहार आएको छैन । कुनै रौनक छैन । यति बेला गाउँ घरमा तिहारका गीत बजिरहेका छन् । नजिकै गाउँमा देउसी भैलो खेलिरहेका छन् । आँगनमा सयपत्री र मखमलीका फूल लहलह झुलेका छन् । तर पनि अस्थायी (टहरा) आवासमै बसेर तिहार मनाउँदा तिहार आएको जस्तो महसुस भएको छैन । बरु सुरक्षित (स्थायी) आवास कहिले बन्छ भन्ने चिन्ता छ भूकम्प पीडितलाई ।

यस्तै मध्यका एक हुनुहुन्छ आठविसकोट नगरपालिका वडा नम्बर १३ हम्पाका लक्ष्मण शाही। 'भूकम्प गएको शनिवार एक वर्ष पुरा भयो, त्रिपाल हुँदै अस्थायी आवासमा छौँ, पुनर्निर्माणको काम कहिले सुरु हुन्छ केही टुङ्गो छैन, हामीलाई त चाडपर्व भन्दा पनि सुरक्षित आवासको आवश्यकता छ' दुई वर्ष अगाडीको तिहारलाई स्मरण गर्दै शाही भन्नुहुन्छ तिहारको समय निकै रमाइलो हुन्थ्यो, दिदीबहिनी, आफन्त सबै जम्मा भएर देउसी भैलो खेल्ने गर्थ्यौँ दुई वटा दसैँ तिहारमा भूकम्पको पिडाले हामीलाई रमाइलो गर्ने वातावरण नै सिर्जना भएको छैन, रमाइलो पनि कसरी गर्नु भूकम्प गएको एक वर्ष पुग्दासम्म अस्थायी आवासमै बस्नु परेको छ ।'

आफ्नै घर परिवार अटाउन मुस्किल हुने अस्थायी आवासमा चाडपर्व आउँदा पाहुनालाई व्यवस्थापन गर्ने ठाउँको समेत समस्या हुने गरेको भूकम्प प्रभावितको भनाइ छ । यो वर्ष जे भए पनि अर्को वर्ष भने नयाँ घरमा चाडबाड मनाउन पाए हुन्थ्यो भन्ने भूकम्प प्रभावितलाई लागेको छ । गत साल कात्तिक १७ गते राती जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले शाहीको घर मात्र भत्काएन परिवारमा समेत बज्रपात परेको थियो । घर बस्नै नमिल्ने गरी भत्काउँदा परिवारको समेत खुसी लुटिएको थियो । उहाँले आमा, तिहार मनाउन माइत आएकी एक बहिनी, दुई भान्जा सहित माइजुको मृत्यु भएको थियो । त्यति बेलाको सम्झना अहिले पनि झलझली आउने गरेको उहाँ सुनाउनुहुन्छ ।

भूकम्पकै कारण गत वर्ष र यस पटक आफूहरू लगायत हजारौँ पीडितले आनन्दले दसैँ तिहार जस्ता ठुला पर्व मनाउन नसकेको आठविसकोट नगरपालिका १३ भल्माका हरिबहादुर ओलीले बताउनुभयो । 'अस्थायी आवासमा समस्या नै समस्या छन्,  भनेजस्तो तरिकाले चाडपर्व मनाउन मुस्किल छ । आफ्नै परिवार अटाउन नसकिने अवस्थामा कसरी पाहुना मैतालुलाई व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। हामीलाई तिहार भन्दा स्थायी आवासको चिन्ता छ, सम्बन्धित निकायले स्थायी आवासको निर्माण कार्य सुरु गरिदिए खुसी हुने थियौँ, अर्को साल सुरक्षित आवासमै चाडपर्व मनाउन पाइन्थ्यो कि' ओलीले भन्नुभयो । गत साल कात्तिक १७ गते राती गएको भूकम्पले घर भत्किएपछि ओलीको परिवार खुला आकाश, त्रिपाल हुँदै अहिले अस्थायी आवासमा बसिरहेका छन् । चिसो मौसम सुरु भएकाले पुनर्निर्माणको काम तत्काल सुरु गर्नुपर्ने उहाँको भनाइ छ ।

सानीभेरी गाउँपालिका ४ कि कालिकादेवी मल्लले चाडपर्व जसोतसो अस्थायी आवासमै मनाइरहेको बताउँदै सरकारले भूकम्प पीडितलाई चिसो र हावाहुरीको जोखिमबाट बचाउन तत्काल पुनर्निर्माणको कामलाई सुरु गर्नुपर्ने बताउनुभयो । भूकम्पको पीडा स्मरण गर्दै उहाँले कयौँ रात खुला चौरमा बिताएको, शीत चुहिने त्रिपालमा बिताएका रात, त्रिपालमा डर त्रासका बिचको बसाई, त्रिपालमुनि बस्दा बिरामी भएका लगायतका थुप्रै समस्या सुनाउनुभयो । 

अब आउने पुस माघको चिसो, वैशाख जेठको हावाहुरीबाट सुरक्षित राख्न स्थानीय, प्रदेश र सङ्घ सरकारले ध्यान दिनुपर्छ, एक वर्षसम्म पुनर्निर्माणको काम गर्न नसके पनि अब भने पीडितलाई समयमै यसको अनुभूति हुने गरी काम गर्नुपर्ने मल्ले बताउनुभयो । 'हामीलाई तत्काल सुरक्षित आवासको खाँचो छ अस्थायी आवासमा बसाइ व्यवस्थापन देखि अन्य धेरै समस्या हुने गरेको छ, हाम्रो बाध्यता सम्बन्धित निकायले समयमै बुझोस् र छिटै सुरक्षित आवासमा बस्ने वातावरण सिर्जना होस' मल्लले भन्नुभयो । चिसो मौसम र बर्सातको समयमा अस्थायी आवासमा धेरै समस्या भोग्नु परेको उहाँले बताउनुभयो । 

एक वर्षसम्म पहिलो किस्तामै अलमल
भूकम्पको बिहीबार ठिक एक वर्ष पुरा भयो । तर सरकार पहिलो किस्तामै अल्झिएको छ । पहिलो किस्ता बापत २५ हजारका दरले पाउनु पर्ने अनुदानका लागि २ हजार २ लाभग्राही अझै पर्खाइमा छन् । ती पर्खाइमा रहेका लाभग्राहीले पहिलो किस्ता पाउने टुङ्गो छैन । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले भने प्राधिकरणमा माग गरी पठाएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्ला भर ३४ हजार ९ सय ९८ लाभग्राही कायम भएका छन् । ती मध्य ३२ हजार ९ सय ९६ लाभग्राहीले पहिलो किस्ता बापत ८२ करोड ४९ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

ती मध्य २ हजार २ लाभग्राही पहिलो किस्ताकै पर्खाइमा छन् । सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार १६ हजार लाभग्राहीले दोस्रो किस्ता बापत २५ हजारका दरले ४० करोड रुपैयाँ प्राप्त गर्दा आधा भन्दा बढी अर्थात् १६ हजार ९ सय ९६ लाभग्राहीले  दोस्रो किस्ता पाउन बाँकी छ । स्थानीय तहबाट दोस्रो किस्ता बापत माग भए बमोजिम ५ हजार ७ सय ४७ लाभग्राहीका लागि १४ करोड ३६ लाख ७५ हजार रुपैयाँ प्राधिकरणमा माग गरी पठाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

गत साल कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले दुई जिल्ला जाजरकोट र रुकुम पश्चिममा मानवीय सँगै भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएको थियो । रुकुम पश्चिम र जाजरकोटमा गरी १ सय ५३ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update