रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १ को मेलचौरमा परम्परा देखि लाग्दै आएको मेलचौर मेला यस वर्ष पनि लाग्ने भएको छ । कात्तिक २१ गते देखि २४ गते सम्म मेला लाग्ने भएको हो । मेलाको अवसरमा मेला व्यवस्थापन समिति खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । खुला शुद्ध वडा स्तरीय महिला पुरुष भलिबलको साथमा खुला शुद्ध वडा स्तरीय महिला पुरुष ब्याडमिन्टन प्रतियोगिताको पनि आयोजना गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।
पुरुष भलिबल तर्फ प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाण पत्र दोस्रो हुने टिमले नगद ४० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाण पत्र तथा सेमिफाइनल पुगेका दुई टिमले समान २०/ २० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने खेलकुद संयोजक अजय मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिला भलिबल तर्फ प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँको साथमा कप,मेडल र प्रमाण पत्र तथा दोस्रो भएको टिमले नगद १५ हजार रुपैयाँको साथमा कप, मेडल प्रमाण पत्र र सेमिफाइनल पुगेको दुई टिमले समान दश/दश हजार रुपैयाँको साथमा मेडर प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । पुरुष ब्याडमिन्टन तर्फ विजेता भएको जोडीले नगद दश हजार तथा उपविजेता भएको जोडीले नगद सात र सेमिफाइनल पुगेका दुई जोडीले समान दुई/दुई हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने खेलकुद संयोजक मल्लले जानकारी दिनुभयो ।
यस्तै महिला ब्याडमिन्टन तर्फ विजेता जोडीले नगद पाँच हजार तथा उपविजेता जोडीले नगद तीन हजार र सेमिफाइनल पुगेका दुई जोडीले समान एक/एक हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । मेलामा झाँकी सहित सहभागी हुने सांस्कृतिक समूहलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । मुख्य मेला कात्तिक २३ गते लाग्ने मेला व्यवस्थापन समितिले जानकारी दिएका छ ।