Kakhara सबैको खबर सम्पूर्ण खबर
पितिवाङ खोलामा आएको बाढीले अवरुद्ध राप्ती राजमार्ग सुचारु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ को सिमानामा पर्ने पितिवाङ खोलामा आएको बाढीले अवरुद्ध राप्ती राजमार्ग सुचारु भएको छ । सोमबारको वर्षाका कारण खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको थियो । खोलामा ठुलो बाढी आएपछि खोला वारपारका लागि राखिएका कल्भर्ट भन्दा माथिबाट खोला बग्न थालेपछि राप्ती राजमार्ग अवरुद्ध भएको थियो । 

बाढीका कारण खोला वारपार गर्न समस्या भएपछि खोला वारी पारी ठुलो संख्यामा सवारी साधन रोकिएका थिए । अहिले भने अवरुद्ध राप्ती राजमार्ग सुचारु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरलले जानकारी दिनुभयो । अहिले जिल्ला भित्रिने तथा जिल्ला बाहिरिने सवारी साधन निर्बाध चलिरहेको उहाँको भनाई छ । 

गयराती मुसिकोट नगरपालिकाले बाटो खुलाएको हो । नगरपालिकाको जेसिबिले कल्भर्ट माथिबाट बगिरहेको पानीलाई मुनिबाट बग्ने बनाएसँगै राप्ती राजमार्ग सुचारु भएको बताइएको छ । ठुलो पानी पर्दा यो खोलामा आवतजावतका लागि सवारी साधन तथा स्थानीयलाई सास्ती हुने गरेको छ । 

वर्षौँ देखि पुल निर्माण कार्य अलपत्र परेका कारण विशेष गरी वर्खायाममा धेरै सास्ती हुने गरेको छ । राप्ती राजमार्ग रुकुम पश्चिम र पूर्वलाई देशको राजधानी काठमाडौँ, दाङ, नेपालगन्ज लगायतका ठाउँसँग जोडने मुख्य मार्ग हो । तर ठेकेदारको चरम लापरबाहीका कारण बर्सेनि जिल्लावासीले ठुलो सास्ती भोग्न बाध्य भएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update