Kakhara सबैको खबर सम्पूर्ण खबर
बेमौसमी वर्षा सँगैको असिना पानीले फलफूल र अन्नबालीमा क्षति, किसानहरू चिन्तित

सोमबार वर्षासँगै परेको असिना पानीले रुकुम पश्चिममा ठुलो क्षति गरेको छ । सोमबार दिउसो देखि परेको ठुलो असिना पानीले  किसानहरूले भर्खर मात्रै खेतबारीमा लगाएर उम्रन लागेको गहुँ तथा जौ बालीमा ठुलो क्षति पुर्‍याएको हो । रुकुम पश्चिम र पूर्वमा समेत असिना सहितको वर्षा भएको छ । 

केही ठाउँमा हिउँ समेत परेको छ । रुकुम पश्चिम जिल्लाभर नै असिना सहितको वर्षाले ठुलो क्षति गरेको किसानहरूले बताएका छन् । त्रिवेणी, सानिभेरी र मुसिकोट लगायतका ठाउँमा ठुलो असिना परेर किसानहरूले बारीमा भर्खर लगाएका गहुँ ,जौ र मुसुरोमा क्षति गरेको छ । 

'भर्खर रोपेका र उम्रेर टुसाउन थालेका सबै असिना पानीले चुटेर बगर बनाइसक्यो, अब न बाँकी बिउँ र मल छ, नत बारीमा छरेको बिउ उम्रेला भन्ने आस छ, त्रिवेणी ७ का पूर्व वडा अध्यक्ष समेत रहनुभएका किसान वीरबहादुर खड्काले दुःख व्यक्त गर्नुभयो ।' 

अब सम्बन्धित निकायले किसानलाई बिउँ उपलब्ध गराउनुपर्ने उहाँको माग छ । त्यस्तै असिनाको कारण सुन्तला र कागतीमा समेत जिल्लाभरमै ठुलो क्षति भएको छ । पाक्नै लागेका सुन्तला सोमबार परेको बेमौसमी असिना पानीले झारिदिएको छ भने वाकी रहेका दानाहरूमा पनि दाग लागेको किसानको भनाई छ । 

भित्र्याउनै लागिएको सुन्तला, किबि, अलैँची र कागती तथा केरा लगायतका फलफूलमा क्षति भएपछि किसानहरू मारमा परेका छन् । केराउ र तोरी बालीमा समेत असिनाले क्षति गरेको त्रिवेणी ६ का फलफूल कृषक हिमबहादुर घर्तीले बताउनुभयो ।  

असिना पानीले भर्खरै लगाएको काउली र बन्दाको बिरुवामा समेत ठुलो क्षति गरेको मुसिकोटका किसान भिमबहादुर खत्रीले जानकारी दिनुभयो । त्यस्तै भर्खरै उम्रेको हिउँदे सिमी, मुला, लसुन र अन्य हिउँदे बालीमा क्षति पुगेको छ ।

भर्खर मात्रै लगाइएको बाली र फलफूलमा असिना पानीले क्षति गरेपछि किसानहरू चिन्तित बनेका छन् । किसानले राहत तथा क्षतिपूर्तिको माग गरेका छन् ।। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update