जनप्रतिनिधि खाली भएकाे ठाउँमा उपनिर्वाचनकाे मिति तोकिएसँगै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा चुनावको माहोल तातिएको छ । वडाध्यक्ष अलबहादुर खत्रीको मृत्यु भएपछि सानीभेरी ५ मा पनि देशभर जनप्रतिनिधि रिक्त रहेका ठाउँमा जस्तै मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ । उक्त वडामा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल समाजवादी पार्टी नेसपा सम्मिलित गठबन्धन र नेकपा माओवादी केन्द्रका बिचमा प्रतिस्पर्धा हुने भएकाे छ । २०७९ सालमा पनि यही प्रतिस्पर्धा भएको थियो । जसमा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका अलबहादुर खत्री २८ मतको झिनो अन्तरले विजयी हुनुभएको थियो ।
उपनिर्वाचनका लागि गठबन्धन र नेकपा माओवादी केन्द्र दुवैले उम्मेदवारको टुङ्गो लगाएका छन् । गठबन्धनले नेपाली काँग्रेसका मोतीराम खत्रीलाई उम्मेदवार बनाएको छ । उहाँ दिवङ्गत वडाध्यक्ष खत्रीका सहोदर भाइ हुनुहुन्छ । उहाँ शिक्षक पदबाट राजीनामा दिएर वडाध्यक्षको चुनाव लड्दै हुनुहुन्छ । ३६ वर्षीय मोतीरामले नेपाल राष्ट्रिय मावि घापाघारमा १५ वर्ष प्राविको अस्थायी दरबन्दीमा शिक्षण गर्नुभयो । उहाँको विरुद्धमा नेकपा माओवादी केन्द्रले पूर्व जनप्रतिनिधि जसिराम बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बस्नेत २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएर एक कार्यकाल बिताइसक्नु भएको छ । पार्टीका सानीभेरी गाउँपालिका सदस्य ४५ वर्षीय बस्नेतलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा माओवादी केन्द्र सानीभेरीका सचिव दीपक बाँठामगरले जानकारी दिनुभयो । दुवै पक्ष चुनावको तयारीमा जुटेका छन् । बैठक, छलफल, घरदैलो देखि अन्य प्रचारका काममा व्यस्त रहेको दुवै पक्षले बताएका छन् ।
'दाइको सपना साकार पार्न उम्मेदवारी'
गठबन्धनका तर्फबाट उम्मेदवारमा सिफारिस मातिराम खत्रीले स्वर्गीय दाइको सपना साकार पार्न आफूले उपचुनाव लड्न लागेको बताउनुभयो । ‘दाइप्रति भरोसा गरेर वडावासीले जिताउनुभएको थियो, तर दाइको अकल्पनीय रूपमा निधन भयो, त्यसपछि वडावासी निराश हुनुहुन्छ, उक्त निराशालाई आशामा बदल्न र दाइको सपना पूरा गर्न शिक्षकबाट राजीनामा दिएर चुनाव लड्दै छु, उहाँले भन्नुभयो ।’
निर्वाचित भएमा वडाको समृद्धिका लागि काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । ‘साथै उहाँले चुनाव जित्नेमा आफू ढुक्क रहेको बताउनुभयो । चुनाव जित्ने ढुक्क भएपछि नै म शिक्षकको जागिर छाडेर चुनावमा होमिएको हुँ, उहाँले भन्नुभयो ।’
'विद्युतिकरण र बाह्रमास चल्ने सडक पहिलो प्राथमिकता'
नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारमा सिफारिस जसिराम बस्नेतले वडाको समग्र विकासका लागि आफूले चुनाव लड्न लागेको बताउनुभयो । वडा अहिले पनि धेरै कुरामा पिछडिएको छ र आफू निर्वाचित भएमा वडाको समग्र विकास गरी समृद्धि हासिल गर्ने गरी काम गर्ने उहाँको प्रतिबद्धता छ । पहिलो प्राथमिकतामा सडक र विद्युत् रहेको उहाँले बताउनुभयो । ‘हाम्रो वडामा पूर्ण विद्युतिकरण भएको छैन, मेरो पहिलो प्राथमिकतामा वडाभरमा विद्युतिकरण गर्ने हो, उहाँले भन्नुभयो–यसका साथै वडामा बाह्रमास चल्ने सडक छैन, सडक बाह्रमास चल्ने बनाउने पनि प्रमुख प्राथमिकता हो ।’
यसका अलावा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयलाई पनि प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ । उहाँले पनि चुनाव जित्नेमा ढुक्क रहेको बताउनुभयो । अघिल्लो पटक झिनो मतान्तरले पराजित भएको तर यो पटक भने राम्रो मत पाएर विजयी हुनेमा आफू ढुक्क रहेको उहाँको भनाई छ ।
यस्तो थियो २०७९ को मत परिणाम
२०७९ मा भएको निर्वाचनमा गठबन्धन र माओवादीका उम्मेदवार बिचको मतान्तर २८ थियो । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अलबहादुर खत्री ४ सय ६२ मत पाएर निर्वाचित हुनुभएको थियो । निकटतम तथा एक मात्र प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका तीर्थबहादुर खत्रीले ४ सय ३४ मत पाउनुभएको थियो । उक्त चुनावका लागि वडामा मतदाता सङ्ख्या १२ सय ५७ रहेको थियो ।
अहिले भने मतदाता सङ्ख्या बढेको छ । आगामी मङ्सिर १६ गते हुन लागेको उप चुनावका लागि वडामा १४ सय ४६ जना मतदाता रहेका छन् । गत चुनावमा कडा टक्कर भएकोमा यो चुनावमा पनि सोही अनुसारको टक्कर हुने देखिएको छ ।