रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले अति आवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको छ । आईतबार गरिएको एन्टीजेन परीक्षणबाट केहि जनप्रनिधि र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाले अति आवश्यक बाहेकका अन्य सेवा १ साताका लागि बन्द गरेको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै सेवा बन्द गरिएका बारेमा जानकारी गराएको छ । त्यस्तै नगरपालिकाले रिफारिस तथा अन्य सेवा सूचना प्रविधिको प्रयोग गरी अनलाईन मार्फत दिने पनि जनाएको छ । नगरपालिकाले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र घरमै वस्न तथा भिडभाड हुने ठाउँमा नजान नगरवासीलाई आग्रह समेत गरेको छ ।
कोराना भाइरससंग मिल्दा जुल्दा लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र होम आईसोलेसनमा वस्न पनि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले आग्रह गर्नुभएको छ ।