Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यालय र व्यक्ति विच जग्गा साटफेर, २८ वर्षसम्म समस्या यथावत् 
मालिका मावि चुन ।

रुकुम पश्चिमको एक सामुदायिक विद्यालय र स्थानीय एक व्यक्ति बिच जग्गा साटफेर भएको २८ वर्षसम्म पनि जग्गा समस्याको समाधान हुन सकेको छैन । मुसिकोट नगरपालिका वडा नम्बर १० चुनमा रहेको मालिका माध्यमिक विद्यालय र सोही ठाउँका स्थानीय पञ्चराम बुढा बिच २०५३ सालमा जग्गा साटफेर भएको थियो । जग्गा साटफेर भएको २८ वर्षसम्म पनि विद्यालय र जग्गा साटफेर गर्ने स्थानीय व्यक्ती बुढा बिच जग्गाको समस्याको हल हुन नसकेको मालिका मावि चुनका प्रधानाध्यापक खड्कसिंह कठायतले जानकारी दिनुभयो । 

‘‘हामीले धेरै पहल गर्‍यौ, सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न नमिल्ने रहेछ, उहाँको जग्गा पास भएर विद्यालयका भवन निर्माण भइसकेका छन्, विद्यालयको जग्गा व्यक्तिको नाममा पास गर्न नमिल्ने भएपछि समस्या समाधान हुन सकेको छैन’’ प्रअ कठायतले भन्नुभयो । हाल विद्यालय रहेको स्थानमा बुढाको जग्गा रहेको र त्यहाँ विद्यालय निर्माण गर्न उपयुक्त ठाउँ भएकाले जग्गा साटफेर गरिएको थियो । हाल बुढाले प्रयोग गर्दै आएको जग्गा विद्यालय भएको ठाउँभन्दा केही पर भिरालो ठाउँमा रहेकाले विद्यालयको भवन निर्माण गर्न सम्भव नभएपछि जग्गा साटफेर गरिएको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा हाल शिशु कक्षादेखि कक्षा १० सम्म पढाई सञ्चालन भइरहेको छ । 

जग्गाको समस्या समाधान गर्न समिति गठन 
साटफेर गरिएको जग्गाको २८ वर्षसम्म समस्याको समाधान नभएपछि समस्या समाधानको निम्ति समिति गठन गरिएको छ । वडा अध्यक्ष धनबहादुर खड्का(वसन्त) संयोजक रहेको समस्या समाधान समिति निर्माण गरिएको छ । जसमा संयोजक वडा अध्यक्ष खड्का सहित ११ सदस्यीय समिति निर्माण गरिएको छ । जसमा राजनीतिक दलबाट नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, चार वटा टोलबाट एक एक जना टोल संयोजक, भूपू विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सदस्य र प्रअ कठायत सहित ११ जना सदस्य रहेका छन् । 

समस्या समाधानको लागि निर्माण गरिएको समितिले आर्थिक सङ्कलन जुटाएर विद्यालयको जग्गामा बसिरहेको बुढाको परिवारलाई जग्गा व्यवस्थापन गर्ने छ । बुढाको परिवार २८ वर्षसम्म विद्यालयको जग्गा(आफूले साटेको) मा बसिरहेको छ । जग्गा व्यवस्थापनको लागि अनुमानित १५ देखि २० लाखसम्म रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

जग्गा व्यवस्थापन गर्न देउसी भैलो 
मालिका मावि चुन र स्थानीय पञ्चराम बुढाको जग्गा साटफेरको समस्यालाई समाधान गर्न देउसी भैलो कार्यक्रम नै सञ्चालन गरियो । विद्यालयको नाममा रहेको जग्गा व्यक्तिको नाममा पास नहुने भएपछि पञ्चरामको लागि जग्गा व्यवस्थापन गर्न देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष समेत रहनुभएका जग्गा व्यवस्थापन समिति संयोजक धनबहादुर खड्का वसन्तले जानकारी दिनुभयो । 

464579533_545366898240699_7261860335135895695_n-1730888705.jpg

‘‘२०५३ सालमा विद्यालय र स्थानीय पञ्चरामको परिवारले गरेको जग्गा साटफेरको सवाल आज २८ वर्षसम्म समस्याका रूपमा यथावत् रहेपछि हामीले यो विषयलाई समस्याका रूपमा रहिरहन दिनु हुँदैन भनेर समिति गठन गरेर लागेका छौँ, यसमा सबैले सहयोग गरेर उहाँलाई बस्ने जग्गा व्यवस्थापन गर्नुपर्छ’’उहाँले भन्नुभयो । ‘‘तत्कालीन समयमा समाज विकासका लागि समाजको अनुरोध स्वीकार गरेर विद्यालयसँग जग्गा साटफेर गर्नुभयो त्यो कुनै स्वार्थ थिएन त्यसैले पनि जग्गाको समस्याको समाधान गर्नुपर्छ’’ समितिका संयोजक खड्काले भन्नुभयो । 

समाजको लागि काम गर्दा घर/जग्गा विहीन बन्न पुगेको परिवारलाई घर जग्गाको व्यवस्थापन गर्न विद्यालय, वडा कार्यालय, राजनीतिक दल र स्थानीय सबैको सहयोग हुनुपर्ने उहाँको भनाई छ । सोही विषयको समाधानको निम्ति विद्यालय परिवार, राजनीतिक दल, वडा कार्यालय, स्थानीयको सहयोगमा विद्यालयले देउसी भैलो कार्यक्रम समेत आयोजना गरेको थियो । ३ दिनसम्म खेलिएको देउसी भैलोबाट २ लाख ६५ हजार रुपैयाँ सङ्कलन भएको छ । संंकलन भएको उक्त रकम बुढाको जग्गा व्यवस्थापनमा खर्च गरिने समितिले जनाएको छ । 

465645888_545366818240707_637779579030183547_n-1730888704.jpg461986764_1955101031669112_6265995651479986877_n-1730888703.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update