Kakhara सबैको खबर सम्पूर्ण खबर
बेलटापु मेलामा २ लाख पुरस्कारकाे भलिबल हुने 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ को परम्परागत बेलटापु मेलाको अवसरमा यो वर्ष पनि विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । बेलटापु मेला व्यवस्थापन समितिले मङ्सिर १ गते देखि सञ्चालन हुने गरी महिला पुरुष भलिबल र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । मेलाको अवसरमा आयोजित पुरुष भलिबलको विजेताले नगद २ लाख पुरस्कार प्राप्त गर्ने छ । पुरस्कार राशिका हिसाबले यो जिल्लामा आयोजित ठुला प्रतियोगिता मध्येको एक हो ।

उप विजेताले १ लाख ३० हजार पुरस्कार पाउँदा तेस्रो हुने टिमले ७५ हजार पुरस्कार पाउने आयोजक बेल्टापु मेला व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार पुनले जानकारी दिनुभयो । विजेता, उपविजेता तथा तेस्रो हुने टिमलाई नगद सहित कप, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको उहाँले बताउनुभयो । पुरुष तर्फ दर्ता शुल्क १० हजार कायम गरिएको छ ।

त्यस्तै महिला भलिबलको विजेताले नगद १ लाख, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । उप विजेताले ७५ हजार र तेस्रो हुनेले नगद ५० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भिमप्रकाश विकले जानकारी दिनुभयो । महिला तर्फ दर्ता शुल्क ५ हजार तोकिएको छ ।

महिला पुरुष दुवै तर्फ तीन जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी राख्न पाइने खेल संयोजक विकले जानकारी दिनुभयो । खेलाडीले आफ्नो परिचय खुल्ने परिचय पत्र अनिवार्य पेस गर्नुपर्ने र खान बस्नको व्यवस्था आफैले गर्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागीताका लागि कार्तिक ३० गतेसम्म टिम दर्ता गर्न सकिने छ ।

465728908_2537589636630655_1221241135589859567_n-1730944137.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update