Kakhara सबैको खबर सम्पूर्ण खबर
क्रिकेट खेलाडीलाई चौरजहारी नगरपालिकाको सम्मान: ५ लाख बराबरको दुर्घटना बिमा  

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सानीभेरी गाउँपालिकामा आयोजित पालिका स्तरीय क्रिकेटमा विजेता आफ्नो नगरको टिमलाई सम्मान गरेको छ । बुधवार नगरपालिकामा बोलाएर खेलाडी तथा व्यवस्थापक गरी १६ जनालाई सम्मान गरेको हो । सबै खेलाडी तथा व्यवस्थापकलाई दोसल्ला तथा अबिर लगाएर सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

सम्मान सँगै नगरपालिकाले खेलाडी तथा व्यवस्थापकको ५ लाख बराबरको दुर्घटना बिमा गरिदिने भएको छ । खेलाडीलाई सम्मान गर्दै चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले खेलाडी प्रोत्साहनका लागि नगरमा रहेका क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति ५ लाखका दरले दुर्घटना बिमा गरिदिने घोषणा गर्नुभयो । जस क्रममा पालिका स्तरीय प्रतियोगिता जिताउने १६ जना खेलाडी तथा टिम व्यवस्थापकको दुर्घटना बिमा गरिदिने उहाँको भनाई छ ।

नगर प्रमुखले प्रति खेलाडी ५ लाखका दरले दुर्घटना बिमा गरिदिने घोषणा गरेको र यसबाट  ८० लाख बराबरको रकम दुर्घटना बापत खेलाडीले प्राप्त गर्न सुनिश्चित हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । खेलाडीको दुर्घटना बिमा गर्ने चौरजहारी नगरपालिका जिल्लाको पहिलो स्थानीय तह बनेको छ । 

खेलाडीलाई प्रोत्साहन गर्न र व्यावसायिक बनाउन नगरपालिकाले बिमा गरिदिन लागेको नगर प्रमुख वादीले बताउनुभयो । खेलाडीहरूले चोटका कारण खेल जीवन नै गुमाउनु पर्ने बाध्यता रहेकोमा अब भने चोट लागेमा खेलाडीले सजिलै उपचार गराउन सक्ने र खेल जीवनबाट पलायन हुनुपर्ने बाध्यतामा कमी आउने उहाँको विश्वास छ ।

चाैरजहारी नगरपालिकाले खेलाडीकाे हाैसला बढाएकाे रूकुम क्रिकेट टिमका कप्तान ताराप्रसाद गिरी विवशले बताउनुभयाे । खेलेर के हुन्छ र सरकारले केही सहयाेग गरेन भन्ने बुझाइमा यसले केही हदसम्म कमि ल्याउने र जिल्लाकाे क्रिकेट विकासमा थप टेवा पुग्ने उहाँकाे विश्वास छ । जिल्लाका सबै स्थानीय तहले यस्ता काम गर्नुपर्ने उहाँकाे भनाई छ । 

गत कार्तिक ९ गतेदेखि १४ गतेसम्म जिल्लाको सानीभेरी गाउँपालिकाको बेलटापुमा सञ्चालित पालिका स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा चौरजहारी विजेता बनेको थियो । फाइनलमा मुसिकोट नगरपालिकालाई पराजित गर्दै चौरजहारी विजेता बनेको थियो । सम्मान कार्यक्रमको अवसरमा खेलाडीहरूले ट्रफि नगरपालिकालाई हस्तान्तरण समेत गरेका छन् ।

465782871_2867851923390988_2236068780896913073_n-1730945186.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update