Kakhara सबैको खबर सम्पूर्ण खबर
उपनिर्वाचन: पुथाउत्तरगंगामा माओवादी विरुद्ध काँग्रेस र एमाले गठबन्धनको तयारीमा

देशभरिमा जनप्रतिनिधि रिक्त रहेका मध्ये रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा पनि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ । दलहरूको ध्यान पालिका उपाध्यक्ष र वडा नम्बर २ को वडाध्यक्षका लागि हुन लागेको उपनिर्वाचनमा केन्द्रित भएको छ । दलहरू यति बेला उम्मेदवार टुङ्गो लगाउन व्यस्त छन् । 

नेकपा एमालेले दुवै उम्मेदवारको टुङ्गो लाइसकेको छ भने काँग्रेस र माओवादीले उम्मेदवार टुङ्गो लगाउन बाँकी छ । उपनिर्वाचन हुन लागेका दुवै पदमा नेकपा माओवादी केन्द्रले जितेको थियो । उपनिर्वाचन पनि जित्ने गरी तयारी गरिरहेको माओवादीले जनाएको छ । काँग्रेस एमालेले उपनिर्वाचनका लागि गठबन्धनको प्रयास गरिरहेका बेला माओवादीले भने एकल चुनाव लड्ने जनाएको छ । पार्टीका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले केन्द्रबाटै एकल चुनाव लड्ने सर्कुलर रहेको बताउनुभयो । 

सङ्घ र प्रदेशका सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमालेका बिचमा गठबन्धन भए पनि आफूहरूलाई फरक नपर्ने उहाँको भनाई छ । ‘माथिबाटै सत्ता साझेदार भएकोले उहाँहरू बिचमा उपनिर्वाचनमा पनि गठबन्धन नहुने भन्ने भएन, हामी सिङ्गल नै लड्छौँ, उम्मेदवार टुङ्ग्याएपछि अरू दलसँग छलफल त हुन सक्छ,’ उहाँले भन्नुभयो । 

एमाले काँग्रेस भने गठबन्धनको तयारीमा छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष लिलामणी गौतमले मुद्दा मिल्ने जो सँग पनि गठबन्धनका लागि तयार रहेको र बढी सम्भावना नेपाली काँग्रेससँग रहेको बताउनुभयो । ‘माओवादीले यसअघि निर्वाचन जितेकोले उसले फेरि पनि चुनाव जित्ने भन्ने होला, हामीलाई सम्मानजनक भयो भने माओवादीसँग पनि गठबन्धन नहुने भन्ने छैन, उहाँले भन्नुभयो–तर नेपाली काँग्रेससँग बढी सम्भावना छ, छलफल चलिरहेको छ, टुङ्गिन बाँकी छ ।’

पार्टीले टुङ्ग्याएका उम्मेदवारले मङ्सिर २ गते मनोनयन दर्ता गराउने र गठबन्धन गरेर जाने स्थितिमा सोही अनुसार गर्ने उहाँको भनाई छ । 

नेपाली काँग्रेसले पनि उपनिर्वाचनमा गठबन्धन हुने बलियो सम्भावना रहेको बताएको छ । नेपाली काँग्रेसका महासमिति सदस्य नन्दु विष्टले पुथाउत्तरगंगामा माओवादी सत्ता पक्ष भएको भन्दै काँग्रेस र एमाले गठबन्धन गरेर जाने बलियो सम्भावना रहेको बताउनुभयो । छलफल चलिरहेको र टुङ्गो भने लागि नसकेको उहाँको भनाई छ । माओवादीसँग गठबन्धन गर्ने विषय पनि समाप्त नभइसकेको उहाँले बताउनुभयो ।

‘काँग्रेस र एमाले मिलेमा माओवादी केन्द्रलाई हराउन सजिलो छ, गठबन्धनका विषयमा छलफल त भइरहेको छ, तर टुङ्गो लागिसकेको छैन, एमालेसँग गठबन्धन हुने सम्भावना बढी छ, उहाँले भन्नुभयो–सम्मानजनक अवस्था भएमा माओवादीसँग पनि गठबन्धन नहुने भन्ने कुरा भएन ।’ 

पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको गत भदौ २८ गते बागलुङ गलकोट नगरपालिका २ भुङखानीमा भएको गाउँपालिकाको गाडी दुर्घटनामा मृत्यु भएको थियो । जसका कारण उपाध्यक्ष र वडाध्यक्ष पद रिक्त भएपछि आगामी मङ्सिर १६ गते उप निर्वाचन हुन लागेको हो । 

२०७९ को मत परिणाम कस्तो छ 
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा अध्यक्ष तथा उपाध्यक्ष सहित १४ मध्य ११ वडामा माओवादी केन्द्रले जित्दा २ वडा एमाले र एउटा वडा नेपाली काँग्रेसले जितेको थियो । पालिका उपाध्यक्षमा माओवादी केन्द्रकी भूपेन्द्रा बुढा ४ हजार ५९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० र एमालेकी धर्मघर्ती बुढाले १ हजार ८ सय १२ मत पाउनुभएको थियो । 

उपाध्यक्षको मत हेर्दा एकल निर्वाचन भएमा माओवादी सहज अवस्था देखिन्छ भने गठबन्धन भएमा अप्ठ्यारो पर्ने देखिन्छ । उपाध्यक्षमा काँग्रेस र एमालेले पाएको मत जोड्दा ३ हजार ८ सय २२ हुन्छ । यसलाई हेर्दा माओवादीको मत २ सय ३७ बढी देखिन्छ । तर अध्यक्षमा पाएको मत भने काँग्रेस र एमालेको मत भन्दा कम छ । अध्यक्षमा माओवादीका पुणिराज घर्तीले ३ हजार ९ सय ९३ मत ल्याएर जित हासिल गर्नुभएको थियो । 

अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार तेजेन्द्र खाम मगरले २ हजार १ सय १३, एमालेका उम्मेदवार वागलाल बुढाले १ हजार ८ सय ५२ मत पाउनुभएको थियो । काँग्रेस र एमालेको मत जोड्दा ३ हजार ९ सय ६५ हुन्छ । यो माओवादीले अध्यक्षमा पाएको भन्दा ५२ मत बढी हो ।     

वडा नम्बर २ को मत विवरण यस्तो छ 
वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २ सय ३४ मत ल्याएर निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसका कर्णबहादुर बुढाले १ सय ७९ मत ल्याउनुभएको थियो । यस वडामा माओवादी र काँग्रेसका मात्र उम्मेदवार थिए । २०७९ को निर्वाचनमा पालिकामा छुट्टा छुट्टै चुनाव लडे पनि अधिकांश वडामा नेपाली काँग्रेस र नेकपा एमालेले एक अर्कालाई सघाएका थिए ।। 

एमालेले पुथाउत्तरगंगाको उपाध्यक्षमा तुलाचन र वडाध्यक्षमा रोकालाई उठाउने 
आगामी मङ्सिर १६ गते हुन लागेको उप निर्वाचनका लागि नेकपा एमाले रुकुम पूर्वले पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षको उम्मेदवारको टुङ्गो लगाएको छ । एमालेले गाउँपालिका उपाध्यक्षमा जिल्ला उपसचिव केशकुमारी तुलाचन र वडा नम्बर २ को अध्यक्षमा जिल्ला कमिटी सदस्य जीवन रोका मगरलाई उम्मेदवार बनाउने भएको छ । 

तुलाचन र रोकाको नाम जिल्ला कमिटी बैठकले बुधवार जिल्लाबाट प्रदेश कमिटीमा सिफारिस गरी पठाएको थियो । प्रदेश कमिटीले जिल्लाबाट सिफारिस भएको गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षका उम्मेदवारको नामलाई अनुमोदन गरेको नेकपा एमाले रुकुम पूर्वका जिल्ला अध्यक्ष लिलामणी गौतमले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने एमाले जिल्लामा पहिलो दल बनेको छ ।  

जिल्लाबाट सिफारिस उम्मेदवारको नाम प्रदेशबाट अनुमोदन भएपछि आफूहरू उप निर्वाचनको तयारीमा लागेको उहाँले बताउनुभयो । ‘चुनाव जित्ने गरी तयारीमा लागेको उहाँको भनाई छ । यो पटक जसरी भए पनि चुनाव जित्ने गरी लागेका छौँ, पार्टी प्रदेशको निर्देशन पनि पुथाउत्तरगंगामा जसरी पनि निर्वाचन जित्ने भन्ने छ, हामी चुनाव जित्नेमा ढुक्क पनि छौँ’ उहाँले भन्नुभयो । 

माओवादी केन्द्रले उम्मेदवार टुङ्ग्याउन बिहीबार पार्टीको पुथाउत्तरगंगा गाउँपालिका कमिटीको बैठक बोलाएको छ । बैठक तकसेरामा बस्न लागेको र बैठकले उम्मेदवारका विषयमा निर्णय गर्ने नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो । 

नेपाली काँग्रेसले भने कार्तिक २८, २९ गतेसम्म उम्मेदवार टुङ्ग्याउने भएको छ । उम्मेदवारका विषयमा पार्टीमा छलफल चलिरहेको महासमिति सदस्य नन्दु विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update