आगामी मङ्सिर १६ गते हुन लागेको उप निर्वाचनका लागि नेकपा एमाले रुकुम पूर्वले पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षको उम्मेदवारको टुङ्गो लगाएको छ । एमालेले गाउँपालिका उपाध्यक्षमा जिल्ला उपसचिव केशकुमारी तुलाचन र वडा नम्बर २ को अध्यक्षमा जिल्ला कमिटी सदस्य जीवन रोका मगरलाई उम्मेदवार बनाउने भएको छ ।
तुलाचन र रोकाको नाम जिल्ला कमिटी बैठकले बुधवार जिल्लाबाट प्रदेश कमिटीमा सिफारिस गरी पठाएको थियो । प्रदेश कमिटीले जिल्लाबाट सिफारिस भएको गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षका उम्मेदवारको नामलाई अनुमोदन गरेको नेकपा एमाले रुकुम पूर्वका जिल्ला अध्यक्ष लिलामणी गौतमले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने एमाले जिल्लामा पहिलो दल बनेको छ ।
जिल्लाबाट सिफारिस उम्मेदवारको नाम प्रदेशबाट अनुमोदन भएपछि आफूहरू उप निर्वाचनको तयारीमा लागेको उहाँले बताउनुभयो । चुनाव जित्ने गरी तयारीमा लागेको उहाँको भनाई छ । ‘यो पटक जसरी भए पनि चुनाव जित्ने गरी लागेका छौँ, पार्टी प्रदेशको निर्देशन पनि पुथाउत्तरगंगामा जसरी पनि निर्वाचन जित्ने भन्ने छ, हामी चुनाव जित्नेमा ढुक्क पनि छौँ’ उहाँले भन्नुभयो ।
माओवादी केन्द्रले उम्मेदवार टुङ्ग्याउन बिहीबार पार्टीको पुथाउत्तरगंगा गाउँपालिका कमिटीको बैठक बोलाएको छ । बैठक तकसेरामा बस्न लागेको र बैठकले उम्मेदवारका विषयमा निर्णय गर्ने नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसले भने कार्तिक २८, २९ गतेसम्म उम्मेदवार टुङ्ग्याउने भएको छ । उम्मेदवारका विषयमा पार्टीमा छलफल चलिरहेको महासमिति सदस्य नन्दु विष्टले जानकारी दिनुभयो ।