रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा लाग्दै आएको परम्परागत चौतारा मेला सुरु भएको छ । ३० औँ चौतारा मेला बिहीबार देखि वडा नम्बर ९ को राडीबजारमा सुरु भएको हो । मेलाको अवसरमा सर्वाधिक पुरस्कार राशिको पुरुष तथा महिला भलिबल सहित विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगिताको बिहीबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
मेलाको अवसरमा महिला, पुरुष भलिबल, ब्याडमिन्टन, घैँटाे फोर र रस्साकस्सी गरी पाँच वटा खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । सांस्कृतिक कार्यक्रम तर्फ पैसेरु, सिँगारु, टप्पा र मयुर नाच पनि राखिएको चौतारा मेला आयोजक समितिका अध्यक्ष दिलीप बटालाले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष भलिबल प्रतियोगिताको विजेताले पुरस्कार स्वरूप ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
उपविजेता समूहले नगद २ लाख २ हजार २२ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गर्ने समूहले नगद १ लाख १ हजार ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला आयोजक समितिका अध्यक्ष बटालाले जानकारी दिनभयो । पुरुष भलिबल प्रतियोगिता खुला रहेको छ भने दर्ता शुल्क १० हजार कायम गरिएको छ ।
त्यस्तै महिला भलिबल तर्फ विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष वटालाले जानकारी दिनुभयो । तेस्रो पुरस्कार नगद ७५ हजार ५ सय ५५ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र रहेको छ । आयोजकका अनुसार महिला भलिबल पालिका स्तरीय रहेको छ भने ३ जना पालिका बाहिरका खेलाडी राख्न पाइने छ ।
यस्तै पुरुष ब्याडमिन्टन प्रतियोगितामा विजेता हुने जोडीले नगद ८० हजार सहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने जोडीले ६० हजार नगद, कप, मेडल र प्रमाणपत्र पाउने छन् । दर्ता शुल्क ३ हजार रहेको छ । घैँटो फोर प्रतियोगितामा विजेता हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाई छ । दर्ता शुल्क ५ सय रहेको छ ।
त्यसै गरी रस्साकस्सी प्रतियोगितामा विजेता हुने समूहले १० हजार र उपविजेता हुने समूहले ५ हजार र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । सांस्कृतिक कार्यक्रम तर्फ मेलामा सहभागी हुने पैसेरु, सिँगारु, टप्पा र मयुर नाचलाई दुरीका हिसाबले ६ हजारदेखि १० हजार रुपैयाँसम्म पुरस्कारको व्यवस्था गरिएको छ ।
मेलामा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिताको पुरस्कार राशिमा मात्रै ११ लाख ८ हजार ८ सय ८७ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशिको रहेको आयोजकले जनाएको छ ।