Kakhara सबैको खबर सम्पूर्ण खबर
देउसी भैलो खेलेर शिक्षकको तलव व्यवस्थापन 
जनज्योती आधारभूत विद्यालयका विद्यार्थी देउसी भैलो खेल्ने क्रममा लिएको तस्वीर ।

रुकुम पश्चिमको एक सामुदायिक विद्यालयले तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको रकम शिक्षकको तलब व्यवस्थापनमा खर्च गरेको छ । सानीभेरी गाउँपालिकामा वडा नम्बर ७ फुक्रुज्युलामा रहेको जनज्योति आधारभूत विद्यालयले देउसी भैलोबाट सङ्कलन भएको रकम शिक्षकको तलबमा व्यवस्थापन गरेको हो । देउसी भैलो खेलेर सङ्कलन भएको रकम विद्यालयको निजी स्रोतबाट राखिएका एक जना गणित शिक्षकको तलब व्यवस्थापन गरिएको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भीम ओलीले जानकारी दिनुभयो ।

उहाँका  अनुसार विद्यालयले तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गरी  ९४ हजार रुपैयाँ संकलन गरेको थियो । सङ्कलन भएको मध्ये ४५ हजार रुपैयाँ देउसी भैलो खेल्दा प्रयोग हुने पोसाक लगायत अन्य सामग्रीमा खर्च भएको थियो । बाँकी बचेको रकम निजी स्रोतबाट राखिएका शिक्षक डिल्ली केसीको ३ महिनाको तलब ३० हजार रुपैयाँ व्यवस्थापन गरिएको हो । बाँकी १९ हजार रुपैयाँ देउसी भैलो खेल्दा लागेको खर्च कटाएर विद्यार्थीलाई मिलाएर बाँडिदिएको प्रअ ओलीले जानकारी दिनुभयो । 

देउसी भैलो विद्यार्थी, शिक्षक लगायतको सहभागितामा ४ दिनसम्म खेलिएको थियो । विद्यालयमा ३ जना राहत शिक्षक, १ जना कार्यालय सहयोगी र एक जना निजी स्रोतबाट राखिएका शिक्षक सहित ५ जना रहेका छन् । २०६१ सालमा स्थापना भएको विद्यालयले हालसम्म स्थायी रूपमा सञ्चालनको लागि अनुमति प्राप्त गर्न सकेको छैन । हाल जनज्योति आधारभूत विद्यालय फुक्रुज्युलामा बाल विकास देखि कक्षा ५ सम्म पढाई सञ्चालन भइरहेको छ ।

 विद्यालयमा ६५ जना विद्यार्थीले अध्ययनरत गरिरहेको विद्यालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update