नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचन अन्तर्गत रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको उम्मेदवार टुङ्ग्याएको छ । बिहीबार र शुक्रवार तकसेरामा बसेको पार्टीको पालिका कमिटीको विस्तारित बैठकले उपाध्यक्षको उम्मेदवार वडा नम्बर १२ की ज्ञानदेवी पुनलाई बनाउने निर्णय गरेकाे हाे । पुथाउत्तरगंगामा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को वडाध्यक्षका लागि निर्वाचन हुँदै छ ।
जसअन्तर्गत माओवादीले पालिका उपाध्यक्षको उम्मेदवार सिफारिस गरेको हो भने वडाध्यक्षको उम्मेदवार सिफारिस गर्न बाँकी रहेको छ । पार्टीका जिल्ला संयोजक कुमारी बरालका अनुसार पालिका उपाध्यक्षका उम्मेदवार सिफारिस गरिएको र वडाध्यक्षको उम्मेदवार सिफारिस गर्न बाँकी रहेको छ । अन्तिम चरणमा पुगेको र शनिवारसम्म वडाध्यक्षको उम्मेदवार समेत टुङ्गो लगाउने उहाँले बताउनुभयो ।
नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका कमिटी अध्यक्ष हर्कबहादुर कामीले १० जना आकाङ्क्षी मध्यबाट सहमतिमै पुनलाई उपाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको हो । १० जना आकाङ्क्षीहरूले सहमति गरेर १ जनामा केन्द्रीकृत हुनु नै विजयको सन्देश रहेको नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले बताउनुभयो । माओवादीको आधार इलाकाका रूपमा परिचित रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रको नै जीत हुने उहाँको भनाई छ । काँग्रेस–एमालेले गठबन्धन गरे पनि फरक नपर्ने उहाँको भनाई छ ।
पार्टीका गाउँ कमिटी अध्यक्ष हर्कप्रसाद कामीको अध्यक्षतामा बसेको विस्तारित बैठकमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनको प्रमुख तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओलीको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा भुमे गाउँपालिकाका संस्थापक अध्यक्ष रामुसुर बुढा, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुणिराज घर्ती मगर, पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा पुथाउत्तरगंगा गाउँपालिकाका संस्थापक उपाध्यक्ष ओमकुमारी शाही मल्ल, पार्टीका जिल्ला संयोजक तथा सिस्ने गाउँपालिकाका संस्थापक अध्यक्ष कुमारी बराल लगायतको आतिथ्यता रहेको थियो ।
नेकपा एमालेले पनि उम्मेदवार टुङ्ग्याई सकेको छ । उसले उपाध्यक्षमा केशकुमारी तुलाचन र २ नम्बर वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली काँग्रेसले २८, २९ गतेसम्म उम्मेदवार टुङ्ग्याउने जनाएको छ । पालिका उपाध्यक्ष र वडाध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेस र एमालेले माओवादी विरुद्ध गठबन्धनको तयारी गरेका छन् ।
पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको गत भदौ २८ गते बागलुङ गलकोट नगरपालिका २ भुङखानीमा भएको गाउँपालिकाको गाडी दुर्घटनामा मृत्यु भएको थियो । जसका कारण उपाध्यक्ष र वडाध्यक्ष पद रिक्त भएपछि आगामी मङ्सिर १६ गते उप निर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुन लागेका दुवै पदमा नेकपा माओवादी केन्द्रले जितेको थियो ।