रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको सल्ले यूथ क्लबले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । क्लबलाई सहयोग गरेको भन्दै एक कार्यक्रमको आयोजना गरी क्लबले विभिन्न ११ व्यक्ति र संस्थालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो ।
छैटौँ शिद्ध गुफा गोल्ड कपको प्रथम पुरस्कार ६६ हजार ६ सय ६६ सहयोग गर्ने मुसिकोट नगरपालिका वडा नम्बर १ सल्ले घर भई हाल अमेरिकामा रहनुभएका कमल बुढाथोकी, द्धितिय पुरस्कार ३३ हजार ३ सय ३३ सहयोग गर्ने सल्ले निवासी हाल अमेरिकामा रहनुभएका अमित थापा, अमेरिकामै रहनुभएका प्रेम बोहरा, रवि बिसी, जापानमा रहनुभएका अनिल बुढाथोकी र अस्ट्रेलियामा रहनुभएका नवराज खड्कालाई सम्मान क्लबका अध्यक्ष मोहन खड्काले जानकारी दिनुभयो ।
त्यस्तै मुसिकोट १ सल्लेकै सरोज बोहरा, मुसिकोट १ खलङ्गाको शिव शक्ति ग्रिल उद्योगका सञ्चालक जनक विक र मिडिया पार्टनर कखरा डट कमलाई सम्मान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रेम बोहराले ५० हजार, रवि बिसीले २० हजार २ सय, अनिल बुढाथोकीले २० हजार, नवराज खड्काले ३० हजार, सरोज बोहराले ५ हजार तथा शिव शक्ति ग्रिल उद्योगले गोल पोस्टका लागि फलाम सहयोग गरेको थियो ।
यसैबिच क्लबले आय व्यय समेत सार्वजनिक गरेको छ । क्लबको कुल आय ४ लाख २१ हजार ६ सय रहेकामा व्यय ३ लाख ४१ हजार ५ सय ८८ रहेको छ । क्लबको बचत ८० हजार १२ रुपैयाँ रहेको अध्यक्ष खड्काले बताउनुभयो । क्लबले फुटबल सहित विभिन्न प्रतियोगिता आयोजना गर्नुका साथै सरसफाइ लगायतका विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।
क्लबले सल्ले प्रवेश स्थलमा गेट निर्माणको लक्ष लिएको अध्यक्ष खड्काले बताउनुभयो । यसका साथै शिद्ध गुफासम्म जाने बाटोमा सिँढी निर्माण, सरसफाइ कार्यक्रमलाई बढाउने देखि अन्य विभिन्न सामाजिक काम गर्ने योजना रहेको उहाँको भनाई छ । सम्मान तथा आय व्यय सार्वजनिक कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्य, स्थानीय बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सह सचिव रोनिक्स बिसीले गर्नुभएको थियो ।