Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण 
प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै रुकुम पश्चिम र जाजरकाेटका जनप्रतिनिधि ।

रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा रुकुम पश्चिम र जाजरकोटका स्थानीय तहका जनप्रतिनिधिले भूकम्प प्रभावित क्षेत्रमा तत्काल पुनर्निर्माणको काम सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाउँदै जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

भूकम्प गएको १ वर्ष बितिसक्दा पनि पुनर्निर्माणको काम सुरु हुन नसक्दा प्रभावित ठाउँका जनताहरू सङ्कटमा परेको भन्दै रुकुमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, चन्द्रबहादुर विश्वकर्मा र कल्पना मिया, रुकुम पश्चिमबाट निर्वाचित प्रदेश सभा सदस्य तथा कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा तथा रुकुम पश्चिम र जाजरकोटका स्थानीय तहका जनप्रतिनिधिहरूले तत्काल पुनर्निर्माणको माग गरेका छन् । हालसम्म पनि भूकम्प पुनर्निर्माण सम्बन्धी कार्यविधि जिल्ला विपत् व्यवस्थापन समितिमा नपुग्न दुःखद भएको भन्दै कार्यविधि तत्काल उपलब्ध गराइदिन माग गरिएको छ ।

त्यस्तै पुनर्निर्माण गर्ने निकायलाई तत्काल पुनर्निर्माण क्षेत्रमा कार्यालय स्थापना गरी पुनर्निर्माणको कार्य प्रारम्भ गर्ने सुनिश्चितता गरिदिन पनि माग गरिएको छ । यसका साथै जनप्रतिनिधिहरूले पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था एवं निकासा सम्बन्धित कार्यालयमा गर्न, अस्थायी आवास निर्माणका लागि बाँकी रकम भुक्तानी गर्न र पुनर्निर्माण कार्यलाई प्राधिकरण मार्फत एकीकृत रूपमा सम्पन्न गर्ने गरी आवश्यक निर्णय गरिदिन पनि माग गरेका छन् ।

प्रतिनिधि सभा सदस्यहरू जनार्दन शर्मा, चन्द्रबहादुर विश्वकर्मा, कल्पना मिया, प्रदेश सभा सदस्य राजकुमार शर्मा, जाजरकोटको छेडागाड नगर प्रमुख रत्नबहादुर खड्का, जुनिचाँदे गाउँपालिका अध्यक्ष वेदबहादुर शाही, शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाह, रुकुम पश्चिमको चौरजहारी नगर प्रमुख पुष्प वादी, आठबिसकोट नगर प्रमुख रवि केसी, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, आठबिसकोटका पूर्व नगर प्रमुख गोरख केसीको संयुक्त हस्ताक्षरित ज्ञापन पत्र प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई बुझाइएको हो ।

पुनर्निर्माणका लागि सरकारले बेवास्ता गरेका कारण सरकारलाई झकझक्याउन ज्ञापन पत्र बुझाइएको प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले जानकारी दिनुभयो । सरकारका कारण पुनर्निर्माणका कता हो कता अस्थायी आवासकै लागि प्रभावितले सबै रकम प्राप्त गर्न नसकेकोले सरकारलाई ध्यानाकर्षण गराइएको उहाँको भनाई छ । तत्कालै पुनर्निर्माण सुरु नगर्ने हो भने आउँदो बर्खा अघि पुनर्निर्माण नसकिने र यसले भूकम्प प्रभावितलाई थप पीडा थप्ने भएकोले तत्कालै पुनर्निर्माण कार्य थाल्नका लागि सरकारलाई ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन रुकुम पश्चिम र जाजरकोटका स्थानीय जनप्रतिनिधि काठमाडौँ गएका हुन् । 

Gyapan-Patra-1731235257.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update