Kakhara सबैको खबर सम्पूर्ण खबर
जाजरकोटमा छुटाछुटै दुई स्थानमा जिप र फोर्स गाडी दुर्घटना, २० जना घाइते 

जाजरकोटमा आज विहान छुटाछुटै दुई स्थानमा एक वटा जिप र एक वटा फोर्स गाडी दुर्घटना हुँदा २० जना घाईते भएका छन् । जाजरकोटको नलगाड नगरपालिका ४ बाउसे खोलामा जिप दुर्घटना हुँदा ३ जना र भेरी नगरपालिका ७ स्याउलेबाट नेपालगञ्ज जाँदै गरेको फोर्स गाडी कुदुमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । 

बारेकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका ३ जना उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले बताएको छ । गाडी बिच सडकमा पल्टिएको थियो । 

त्यस्तै आजै विहान साढे ११ बजेतिर भेरी नगरपालिका ७ स्याउलेबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी कुदुमा दुर्घटना हुँदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सिले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाडीमा २६ जना यात्रु रहेकामा १७ जना घाइते भएका छन् । चालक सहित ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गाडी ब्रेक फेल भएर सडकदेखि ५० मिटर तल खसेको बताएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update